काठमाडौँ। अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढीमा ६ विदेशीसहित २० जना अझै बेपत्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३ चिनियाँ, ३ भारतीय र २ नेपाली बेपत्ता भएका छन् । यसअतिरिक्त अरु १६ जना स्थानीय सम्पर्कबिहीन भएको प्रशासन कार्यालय सिन्धुपाल्चोकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुको खोजी जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
बुधबार दिनभरमा ७४ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ । घाइते भएका ५ जना मध्ये ४ जनाको अस्पालमा उपचार भइरहेको छ । एक जनाको धुलिखेल अस्पताल र ३ जनाको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
उनका अनुसार बाढी पहिरोका कारण हालसम्म चार पक्की पुल र पाँचवटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यस्तै नदी आसपासमा रहेका सात वटा माछा फार्म बगेका छन् ।
बाढीबाट मेलम्ची नगरपालिकाका ६०० जना र हेलम्बु गाउँपालिकाका ३०० जना स्थानीयवासी प्रभावित भएको प्रशासनको आकलन छ ।