प्रतिस्पर्धी दरमा बिजुली आयात सुरु, पहिलेको भन्दा सस्तो
  • CIA Khabar

  • काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद सुरु गरेको छ । प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात थालेको हो । योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताउनुभयो ।

    शाक्यले सबै शुल्कसहित विद्युतको प्रतियुनिट मूल्य ३।८१ भारतीय रुपैयाँ रहेको उल्लेख गर्नुभयो । ‘प्राधिकरणले पहिलोपल्ट भारतीय बजारले निर्धारण गरेको दरमा शनिबारका लागि खरिद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारु ३७ पैसा सस्तोमा विद्युत पाएका छौं, यसबाट हाम्रो करिब ३० लाख ४८ हजार रुपैयाँ बचत भएको छ, अन्य दिनमा पनि विद्युत खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उहाँले भन्नुभयो ।

    प्राधिकरणले अहिले भारतबाट ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य ४।१८ भारु छ । प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत विद्युत आयात गरिरहेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भएपछि आन्तरिक रुपमा खपत गरेर जगेडा भएको विद्युत भारतीय बजारमा बिक्री गर्ने योजना बनाएको छ ।

    नेपाल भारतीय ऊर्जा एक्सचेन्ज बजारको सदस्य भएको र प्रवेश पनि पाइसकेकाले विद्युत बिक्रीका लागि पनि थप सहज हुने कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।

  • १८ बैशाख २०७८, शनिबार १५:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images