उपभोक्ताले घरमै थुपार्न थाले अक्सिजन सिलिण्डर, बजारमा कृत्रिम अभाव
  • CIA Khabar

  • काठमाडौं । बजारमा अक्सिजन अभावको हल्ला चल्न थालेपछि उपभोक्ताले घरमै साना सिलिण्डर थुपार्न थालेका छन् । जसकारण बजारमा सिलिण्डरको अभाव देखिन थालेको व्यावसायी बताउँछन् ।

    अक्सिजन उद्योगी वीरेन्द्र कुमार संघाई भन्छन्– उपभोक्ताले अभाव हुन्छ कि भनेर साना सिलिन्डर घरमा लगेका छन् । उनीहरुले घर सिलिण्डर लैजाँदा धेरै समस्या त हुँदैन । तर बजारमा कृत्रिम अभावको खतरा हुन्छ ।

    कोरोना लागेमा उपचार गर्न अस्पताल नै जानुपर्ने भन्दै उनले घरमा अनाश्वयक सिलिण्डर नथुपार्न उपभोक्तालाई सुझाएका छन् ।

    नेपालमा १।५, ६।५ र ७ क्युभी लिटरको अक्सिजन सिलिन्डर बिक्री हुने गरको छ । घरमा प्रयोग गर्न भने १।५ क्युभी लिटरको सिलिन्डर प्रयोग हुने गरेको छ । हाल १।५ क्युभी लिटरको अक्सिजन सिलिन्डर नै घर लगेर स्टक राखेका छन् ।

    सानो सिलिन्डर घरमा लान सजिलो हुने भएकाले उपभोक्ताले घरमा लगेका हुन ।

    एक बिक्रेताले भने, ‘पहिले कहिले पनि अक्सिजन प्रयोग नगरेका व्यक्तिहरु अक्सिजन खोज्न आइरहेका छन् । अक्सिजन किन्न आउने ग्राहकहरुलाई कोरोनाको समयमा अभाव हुन्छ भन्ने मात्रै थाहा छ । कसरी र कति मात्र प्रयोग गर्ने भन्ने कुनै जानकारी नै छैन । हल्लाको पछि लागेर घरमा लगेर सिलिन्डर राख्नका लागि नयाँ ग्राहकहरु आइरहेका छन् ।’
    अहिले सानो सिलिन्डरको बजारमा एकाएक माग वृद्धि भएको छ ।

    सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले बाजरमा अक्सिजन ग्याँसको कुनै अभाव नभएको बताए । घरमा अक्सिजन थुपारेर अर्थ नहुने उनको भनाइ छ ।

    पुनले भने, ‘घरमा अक्सिजन लगेर मात्रै हुँदैन । कोरोना संक्रमण भएमा अस्पतालमा नै गएर उपचार गर्नुपर्ने भएकोले घरमा अक्सिजन सिलिन्डर थुपार्नुको अर्थ छैन ।

    दैनिक घरमा नै लगेर अक्सिजन प्रयोग गरिरहेकाहरुले पनि आवश्यताभन्दा धेरै अक्सिजन किन्नुपर्ने अवस्था नआएको उनले बताए । कोरोना संक्रमण भएपछि पनि घरमा नै अक्सिजन प्रयोग गर्न नसकिने र अस्पतालमा डक्टरले अन्य औषधि पनि सँगै चलाउने भएकोले घरमा अक्सिजन सिलिन्डर राखेर केही नहुने पुनले बताए ।

    सरकारले अभाव हुन नदिन अक्सिजन सिलिन्डरलगायतका १० वटा स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको छ । १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोभिड–१९ को महामारीबाट संक्रमित बिरामीको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजनसहित १० प्रकारको सामग्रीको पैठारीमा लाग्ने भन्सार, मूल्य अभिवृद्धि कर, तथा अन्तशुल्क समेत छुट दिने निर्णय गरिसकेको छ ।

    सानो अक्सिजन सिलिन्डर १।५ क्युभी लिटर क्षमताको हुन्छ । सिलिन्डर बाहेक अक्सिजनको मूल्य करिब २ सयदेखि ३ सय रुपैयाँसम्म पर्ने उत्पादकहरु बताउँछन् । अक्सिजनसहित सिलिन्डको मूल्य भने करिब ८ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्छ ।

    ९७ करोड लागनीमा २२ अक्सिजन प्लान्ट सञ्चालन

    नेपालमा ९७ करोड लगानीमा २२ वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । सञ्चालित प्लान्टबाट उत्पादित अक्सिजनले अहिले खड्किएको अभाव पूर्ती हुन सम्भव छ, तर सिलिण्डर अभावले समस्या भइरहेको उत्पादकहरु बताउँछन् ।

    उद्योग विभागको तथ्याङ्कअनुसार नेपालमा सबै भन्दा धेरै लगानीमा काठमाडौंको हिमाल अक्सिजन उद्योग निर्माण भएको छ । जसको कुल पुँजी ८ करोड ८ लाख ३३ हजार रुपैयाँ छ ।

    नेपालमा दर्ता भएका अक्सिजन उद्योगमध्ये एउटामा मात्रै विदेशी लगानी छ । सोलुखुम्बुमा सञ्चालित टप आउट नेपाल प्रालिमा कुल दुई करोड रुपैयाँ लगानीमा आधा विदेशीको छ ।

    काठमाडौं जिल्लामा ११ वटा अक्सिजन उद्योग सञ्चालित छन् भने नवलपरासीमा २, रुपन्देहीमा २, बाँकेमा २, मोरङ्मा १, सोलुखुम्बुमा १, नुवाकोटमा १, र चितवनमा १ वटा अक्सिजन उद्योग रहेको विभागको तथ्याङ्कमा छ ।

    नेपालमा सहरकेन्द्रित अक्सिजन उद्योग भएकाले विकट ठाउँमा अक्सिजन पुर्याउन समस्या भएको बताउँछन्, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतम।

    नवज्योति अक्सिजन ग्यास उद्योगका संचालक वीरेन्द्र कुमार संघाईले नेपालमा अक्सिजन ओसारपसारमा कुनै समस्या नहुने बताए । उनले भने, ‘हाम्रो सहर सहरमा नै अक्सिजन उद्योगहरु रहेका छन् । देशैभर अक्सिजन उद्योग भएकाले पनि आपूर्तिमा खासै समस्या हुँदैन ।’

  • १९ बैशाख २०७८, आईतवार १३:३७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images