स्याङ्जामा १० दिनका लागि लकडाउनको घोषणा
  • CIA Khabar

  • पोखरा । कोरोना संक्रमण बृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय स्याङजाले निषेधाज्ञा (लकडाउन) लगाएको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले स्याङ्जा जिल्ला भर दोस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि सूचना जारी गरी बैशाख २१ गते मंगलबार बिहान ६ बजेदेखि ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा गरिएको उल्लेख गरेका छन् ।

    प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा अत्यावश्यक सेवा तथा वस्तुबाहेक अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक लाई रोक लगाइएको छ ।

    जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक गाडी सञ्चालनमा समेत रोक लगाइएको सूचनामा उल्लेख छ । यस्तै अत्यावश्यक वस्तु वा सेवा अन्तर्गत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, विद्युत्, दूरसञ्चार, फोहरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कार लगायतका सवारी साधन सञ्चालन गर्न भने पाइनेछ ।

    कुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न र सभा जुलुस गर्न रोक लगाइएको छ । यस्तै परम्परागत रुपमा भइ आएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेक कुनै पनि धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट गर्न रोक लगाइएको छ भने कुनै पनि प्रकारका सभा, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल सैलुन, ब्युटी पार्लर, स्पा, स्वीमिङ पुल, जीमखाना, समूहमा खेलिने खेल र पुस्तकालय सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

    होटल, रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने छ । त्यो सम्भव नभए न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्न पाइनेछ ।
    अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र भौतिक दूरी कायम गर्नुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

    यदि आदेशको उल्लङ्घन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुनअनुसार कारवाही हुने सूचनामा जनाइएको छ । यसअघि वालिङ, चापाकोट र गल्याङ नगरपालिकाले स्वास्थ्य विपत घोषणा गर्दै बन्द गर्ने निर्णय गरेका थिए । समुदाय स्तरमा कोरोनका संक्रमण फैलिन थालेपछि तीन पालिकाले उच्च सतर्कता अपनाउँदै एक साताका लागि अत्यावश्यक बाहेक सबै बन्द गर्ने निर्णय गरेका थिए ।

    स्याङ्जामा हालसम्म सक्रिय संक्रमितको संख्या दुई सय १२ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । २१ जनाको अस्पतालमा उपचाररत रहेको र १ सय ८८ होम आइसोलेन रहेका छन् । त्यसैगरी जिल्लामा तिन जना क्वारेन्टिनमा राखिएको छ । जिल्लामा रहेका स्याङ्जाका ११ पालिका मध्ये सबैभन्दा बढी कोरोना संक्रमण वालिङ नगरपालिकामा देखिएको छ ।

  • १९ बैशाख २०७८, आईतवार १९:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images