लुम्बिनी प्रदेश प्रमुखले दिउँसै रात पारे : प्रमुख सचेतक खाण
  • CIA Khabar

  • काठमाडौँ ।  नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाणले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले बहुमत गुमाएका एमाले नेता शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेर गलत गरेको टिप्पणी गरेका छन् । खाणले मुख्यमन्त्री शंकर पोखरेल नाटकीय रुपमा राजीनामा दिएको पनि बताए ।

    नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदलाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले दिउँसै रात पारेको उनले बताए । प्रमुख सचेतक खाणले पोखरेलको विरुद्धमा ४२ सांसदले हस्ताक्षर बुझाउँदा पनि मुख्यमन्त्रीमा पुनः नियुक्त गर्ने प्रदेश प्रमुख साहको निर्णय संविधान र कानुनको बर्खिलापमा भएको बताए ।

    ‘लुम्बिनीमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले बहुमत गुमाएका एमाले नेता शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेका छन् । बिहानमात्रै राजीनामा दिएका पोखरेलको विरुद्धमा ८१ सदस्यीय लुम्बिनी प्रदेश सभाका ४२ सांसदले हस्ताक्षर बुझाउँदा पनि पोखरेललाई नै मुख्यमन्त्रीमा नियुक्त गर्नु लोकतन्त्रको उपहास हो,’ खाणले  भने, ‘संविधानको बर्खिलाप हो । दिउँसै रात पार्ने संविधान र कानुनविपरीत काम भएको छ ।’

    खाणले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रदेश प्रमुख साहले अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाए । ‘केपी शर्मा ओलीले प्रधानमन्त्री भएको दिनदेखि नै संविधान, विधि र पद्धतीविपरीत काम गर्दै आएका हुन् । अहिले पनि उनले नियुक्त गरेका प्रदेश प्रमुखले संसदीय पद्धतीविपरीत संविधान र कानुनको बर्खिलापमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका छन्,’ खाणले भने ।

    प्रदेश प्रमुखको विधिविपरीतको कामविरुद्ध कांग्रेसले सकेसम्म विरोध गर्ने बताए । बहुमत प्रदेश सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा प्रस्तावित लुम्बिनी प्रदेश माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने उनको भनाइ छ । खाण कांग्रेसका लुम्बिनी प्रदेशका नेता हुन् ।

  • १९ बैशाख २०७८, आईतवार २१:५९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images