काठमाडौं । केन्द्रीय तथ्यांक विभागले वैशाख २६ गतेदेखि गर्ने भनेको पहिलो चरणको जनगणनाको कार्यक्रम हालका लागि स्थगित गरेको छ ।
कोरोना संक्रमण बढेपछि १२औं जनगणनाको पहिलो चरण तत्कालका लागि स्थगित भएको हो ।
राष्ट्रिय योजना आयोगका अनुसार कोरोना संक्रमणका कारण मन्त्रिपरिषदबाट जनगणना अगाडि नबढाउने निर्णय भएपछि हाललाई स्थगित गरिएको हो ।
सरकारले स्थगित गर्ने निर्णय गरे पनि आधिकारिक पत्र भने नआइसकेको आयोगले जनाएको छ ।
संक्रमण दिनानुदिन बढ्दै गएपछि गणकहरुलाई कार्यस्थलमा खटाउन समस्या हुने भएका कारण अर्को सूचना जारी नभइञ्जेलसम्मका लागि गणना स्थगित गरिएको छ ।
नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिएको छ ।
‘मेरो गणनाः मेरो सहभागिता’नाराका साथ यस वर्ष केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक नियुक्त गरेको थियो ।