सिन्धुलीका दुई पालिकामा लकडाउन
  • CIA Khabar

  • सिन्धुली । सिन्धुलीका दुई स्थानीय तहले लकडाउन गरेका छन् ।

    दुधौली नगरपालिका र गोलन्जोर गाउँपालिकाले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरेका हुन् ।

    दुधौली नगरपालिकाले आजदेखि लागू हुने गरी वैशाख २९ गते रातिसम्मका लागि लकडाउन घोषणा गरेको छ ।

    नगर विपद् व्यवस्थापन समिति दुधौलीको आइतबार बसेको बैठकले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख घनश्याम राउतले जानकारी दिए ।

    आफ्ना १४ वटै वडामा लागू हुने गरी लकडाउन घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले एक सूचना जारी गर्दै २५ जनाभन्दा कमको उपस्थितिमा स्वास्थ्यको मापदण्ड पालना गरी धार्मिक तथा सामाजिक कार्यक्रम गर्नसमेत अनुरोध गरेको छ ।

    अत्यावश्यक सेवा खाद्यान्न, तरकारी फलफूललगायतका पसललाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्न दिने, बैंकिङ सेवा पालो प्रणालीबाट सञ्चालन गर्ने तथा भीडभाड हुने स्थानबाट दिइने सेवा सबै बन्द गरिने बैठकले निर्णय गरेको छ ।

    गोलञ्जोर गाउँपालिकाले पनि आइतबारदेखि वैशाख २६ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको छ ।

    गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका अत्यावश्यक सेवाबाहेक सबै सेवा एक साताका लागि बन्द गरिएको जनाएको छ ।

    गाउँपालिकाले औषधि पसल, स्वास्थ्य सेवा, एम्बुलेन्सलगायतका सेवा भने २४सै घण्टा खोल्न र अन्य सेवा आंशिकरूपमा सञ्चालन गर्न आग्रह गरेको छ । खाद्यान्न पसल, डेरी, होटल बिहान दुई घण्टा र बेलुका दुई घण्टा खुला गर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

  • २० बैशाख २०७८, सोमबार १२:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images