विद्यालयको परीक्षा स्थगित गर्दै स्थानीय तहहरू
  • CIA Khabar

  • काठमाडौँ– रुकुमपूर्व जिल्लाका स्थानीय तहहरूले विद्यालयको वार्षिक परीक्षा स्थगन गरेका छन् । उनीहरूले कक्षा ९ सम्मको ‘वार्षिक’ र कक्षा १० को ‘एसईई तयारी परीक्षा’ शुरू गरेका थिए ।

    संघीय सरकारले कोरोना संक्रमणका कारण देशभरका विद्यालय बन्द गर्ने निर्णय गरे पनि कतिपय स्थानीय तहहरूले विद्यालयको परीक्षा सञ्चालन गराएका थिए ।

    सिस्ने गाउँपालिकाका र भूमे गाउँपालिका जिल्ला प्रशासन कार्यालयको निर्देशनमा परीक्षा स्थगित गरेका हुन् । यी दुवै गाउँपालिकाले गत बिहीबारदेखि विद्यालयहरूमा परीक्षा सञ्चालन गराएका थिए ।

    सिस्ने गाउँपालिकाका एक कर्मचारीले भने, ‘हाम्रो गाउँपालिकामा विद्यालय बन्द गर्नुपर्ने अवस्था नभए पनि दबाब आएपछि परीक्षा पनि स्थगित गर्नुपर्‍यो ।

    त्यस्तै, पुथाउत्तरगङ्गा गाउँपालिकाले पनि वैशाख २० गतेदेखि सञ्चालन गर्ने भनेको विद्यालय तहको परीक्षा स्थगित गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले परीक्षा सञ्चालन नगर्न पत्र पठाएका कारण निर्धारित परीक्षा स्थगित गर्नुपरेको गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए ।

    संघीय सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेका जिल्लामा निषेधाज्ञा जारी गरेकै दिन ओखलढुङ्गा जिल्लाको मोलुङ गाँउपालिकाले विद्यालयहरूमा वार्षिक परीक्षा शुरू गराएको छ ।

    अहिले गाँउपालिकाको अवस्था सामान्य रहेको र कोरोना संक्रमणको अवस्था जटिल हुन सक्ने कुरालाई ध्यानमा राखेर परीक्षा चाँडै लिने निर्णय गरिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले बताए ।

    उनले परीक्षा नदिए पनि पास भइन्छ भन्ने विद्यार्थीको मानसिकता हटाउन पनि परीक्षा लिन जरुरी रहेको बताए । ओलखढुङ्गा जिल्लाकै सिद्धिचरण नगरपालिकाले पनि वार्षिक परीक्षा सञ्चालन गरेको छ ।

    नगरपालिका क्षेत्रभित्र कोरोना संक्रमणको प्रभाव कम रहेको र पछि बढ्न सक्ने सम्भावना ध्यानमा राखेर परीक्षा सञ्चालन गरिएको सिद्धिचरण नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले बताए ।

  • २० बैशाख २०७८, सोमबार १५:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images