औषधि अभाव हुँदा संक्रमितको उपचार प्रभावित
  • CIA Khabar

  • विराटनगर । विराटनगरका निजीस्तरमा संचालनमा रहेको कोरोना अस्पतालमा रेमडिसिभिर नामक औषधि अभाव हुँदा संक्रमितको उपचार प्रभावित भएको छ । सरकारले केही समय अघिसम्म कोरोना विशेष अस्पतालहरुलाई उपलब्ध गराउँदै आएको औषधि रोकिएपछि बिरामीहरुको उपचारमा समस्या भएको हो ।

    केन्द्र सरकारले औषधि व्यवस्था विभागमार्फत कोरानाको उपचारका लागि आवश्यक औषधी अस्पतालहरुलाई उपलब्ध गराउँदै आएको थियो ।
    विराटनगर स्थित नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले सरकारले औषधि उपलब्ध नगराएपछि उपचारका समस्या उत्पन्न हुन थालेको बताए ।
    उनले अस्पतालमा औषधी उपलब्ध नभएपछि बिरामीका आफन्तलाई औषधीको जोहो गर्न भनिएको बताए ।

    ‘रेमडिसिभिर व्यवस्था गरिदिनका लागि बिरामीका आफन्तहरुले हामीलाई धेरै भन्नुहुन्छ तर, हामीले उपलब्ध गराउनसक्ने अवस्था छैन’ प्रबन्धक दाहालले भने,‘औषधि व्यवस्था विभागले अहिले औषधि पठाएको छैन र बजारमा किन्न नपाइने भएकोले बिरामीहरुले नै औषधि जुटाउने गरेका छन्।’

    नेपाल सरकारले उपलब्ध गराउँदा बिरामीले प्रतिभाइल ५ हजार ३०० रुपैयाँमा उक्त औषधि खरिद गर्थे । अहिले सरकारले औषधि दिन छोडेको छ ।

    चिकित्सकले कतिपय बिरामीलाई रेमडिसिभिर सिफारिस गर्न थालिएपनि औषधी उपलब्ध नभएपछि उपचारमा समस्या देखिन थालको प्रबन्धक दाहालले बताए। अस्पतामा औषधी नपाएपछि मँहगो मूल्य तिरेर आफन्तले आवश्यक औषधीको जोहो गर्न बाध्य भएका छन् ।

    रेमडिसिभिरको प्रिन्टेड मूल्य ५ हजार ७०० भारतीय रुपैयाँ हो । जसको नेपाली मूल्य ९ हजार रुपैयाँ भन्दा बढी हुन्छ । ब्ल्याक मार्केटबाट खरिद गर्दा न्यूनतम १२ हजार ५ सयदेखि २० हजार रुपैयाँसम्म तिर्नु परेको एक उपभोक्ता राजेश यादवले बताए ।

    बुढीगंगास्थित विराट अस्पतालमा सञ्चालित कोभिड उपचार केन्द्रमा करिब २५ जना बिरामीलाई नियमित रेमडिसिभिर चलाइएको छ । तर, औषधि नपाउँदा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

    अस्पतालका निर्देशक डा डेनिस कार्कीले सरकारले औषधी उपलब्ध गराउन छाडेकाले विरामीका लागि आवश्यक औषधी सप्लायर्ससँग मागेपनि भारतमा पनि औषधिको उच्च माग भएका कारण उनीहरुले आपूर्ति नगरेकाले उपचारमा समस्या आउन सक्ने बताए ।

    रेमडिसिभिर चलाउँदा एकजना बिरामीलाई ६ भाइल दिनुपर्छ । जसले गर्दा संक्रमित बिरामीलाई उपचार निकै महंगो पर्ने गरिरहेको छ । नोबेल अस्पतालमा उपचाररत स्वासप्रश्वासमा समस्या भएका अधिकांश बिरामीहरुले रेमडिसिभिर चलाउन माग गर्ने गरेका छन् ।

    कोसी कोभिड अस्पतालमा भने न्यून मात्र रेमडिसिभिर चलाउने गरिएको छ। ​चिकित्सकले कसैलाई सिफारिस गरेको अवस्थामा औषधि जुटाउने जिम्मा बिरामीकै हुने अस्पतालका स्वास्थ्यकर्मीले बताए ।

    कोरोना उपचारमा रेमडिसिभिरको प्रयोग ठिक ढंगले प्रयोग गर्न भने आवश्यक रहेको कोशी अस्पतालका डा रोशन खड्काले बताए ।
    नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले निजी क्षेत्रले रेमडिसिभिर बिक्री गर्न नपाउने भएकोले त्यसको आपूर्ति र खपतको बारेमा जानकारी नभएको बताए।

  • २० बैशाख २०७८, सोमबार १६:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images