प्रदेश २ मा ४१७ स्वास्थ्यकर्मीको दरबन्दी थप, सबै जिल्लाका लागि फोकल मन्त्री तोकियो
  • CIA Khabar

  • जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारीसंग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गरेको छ ।

    मन्त्री परिषद्को आज सम्पन्न बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३ , प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२–३२, लहान अस्पतालका लागी २३ र भारदह तथा पोखरिया अस्पतालका लागी १५–१५ दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

    कोरोना विशेषका लागि थप गरिएको दरबन्दीहरुमा एनेस्थेसियोलोजिष्टदेखि स्वीपरसम्मको पद छ । थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ ।

    यस्तै मन्त्रीपरिषद्ले जनकपुरको मणिपालमा निर्माण गर्न लागेको विशेष कोभिड अस्पतालको लागि थप २२७ दरबन्दी स्वीकृत गरेको छ ।

    प्रदेश सरकारले मणिपालमा २० बेड आइसियुसहित १०० बेडको बिशेष कोभिड अस्पताल निर्माण गर्ने भएको छ ।

    त्यस्तै बैठकले कोरोना महामारीसंग जुध्न प्रदेश सरकारका मन्त्रीहरुलाई जिल्ला –जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्री समेत निर्धारण गरेको छ।

    सप्तरी जिल्लाका लागि भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागि आर्थिक मामिला तथा योजना विजयकुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग पर्यटन तथा वनमन्त्री राम नरेश राय र बारा तथा पर्साका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

    जिम्मेवारी तोकिएका मन्त्रीहरुले सम्बन्धित जिल्ला र प्रदेश सरकारबीच कोरोना महामारी नियन्त्रणका लागि पूलको रुपमा काम गर्ने भएका छन् ।

    बैठकले यसअघि पिसिसिएमसीको बैठकले गरेका निर्णयहलाई अनुमोदन समेत गरेको छ।

  • २० बैशाख २०७८, सोमबार २१:५५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images