छाया गृहमन्त्रीको प्रश्नः ‘प्रधानमन्त्रीले भनेको भौतिक सुरक्षा खतरा सत्यता कति ?
  • CIA Khabar

  • काठमाडौं १८ चैत्र । काँग्रेस नेता, सांसद तथा सो पार्टीले बनाएको छाया गृहमन्त्री दिलेन्द्र प्रसाद बडुले केही समय पहिले प्रधानमन्त्रीले आफूमाथि भौतिक सुरक्षा खतरा रहेको भनेर दिएको भनाइप्रति सत्यतथ्य जानकारी गराउन माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बडुले यसबारे प्रधानमन्त्री, गृहमन्त्री वा सरकारका प्रवक्तामार्फत यथाशीघ्र संसदलाई जानकारी गराउन माग गरेका हुन् ।

    ‘हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बखत भौतिक आक्रमण हुनसक्ने अभिव्यक्ति दिनुभएको थियो,’ बडुले भने, ‘यसमा सत्यता के छ ? यथार्थ के हो ? यसमा गृह मन्त्रालयले के व्यवस्था गरिरहेको छ ? संसद चलिरहँदा पनि प्रधानमन्त्री संसदभित्र नदेखिनु सुरक्षा खतरा नै हो अथवा नैतिक खतरा पनि उहाँ महसुस गरिरहनुभएको छ ?

    उनले यदि सुरक्षा खतरा होइन भने किन त्यस्तो गैरजिम्मेवार असत्य र बनावटी कुरा गरेको भन्दै संसदको ध्यानाकर्षण गराए । ‘यदि सुरक्षा खतरा छैन भने प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्था र सुरक्षा क्षमतामाथि प्रश्न उठ्ने गरी यस्तो गैरजिम्मेवार, असत्य र बनावटी किन दिनुभयो ? प्रश्न गर्दै बडुले सभामुखमार्फत यथाशिघ्र, स्वयं प्रधानमन्त्री, गृहमन्त्री वा सरकारको प्रवक्ताले संसदलाई जानकारी दिन माग गरे ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन दोस्रो साता आफूमाथि शारीरिक हमला वा ज्यान तलमाथि हुनसक्ने भन्दै त्यस्तो भइहाल्यो भने पनि अनौठो नमान्न कार्यकर्ताहरूलाई बताएका थिए । ‘यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ’, प्रधानमन्त्री ओलीले त्यसबेला भनेका थिए ।

  • १८ चैत्र २०७७, बुधबार १६:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images