अन्तर्राष्ट्रिय उडान बन्द हुनुअघि वैदेशिक रोजगारीका कामदार धमाधम पठाइँदै
  • CIA Khabar

  • काठमाडौं । बुधबार रातीबाट अन्तर्राष्ट्रिय उडान बन्द हुने भएसँगै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई प्रत्यक्ष असर पर्ने भएको छ । दैनिक ४ सयदेखि १ हजारसम्म रोजगारीका लागि विभिन्न मुलुक जाने गरेका थिए ।

    कोभिड–१९ को दोस्रो लहर फैलिएपछि सरकारले बैशाख २२ गते राति १२ बजेबाट अन्तर्राष्ट्रिय उडानमा रोक लगाइसकेको छ । सरकारले केही दिन अघि नै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेकाले वैदेशिक रोजगारका लागि जान भिसा लिइसकेका यात्रुलाई म्यानपावर कम्पनीले काठमाडौं बोलाएर पीसीआर गरी पठाइरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले बताए ।

    उनका अनुसार अहिले सरकारको निर्णयपछि वैदेशिक रोजगारका लागि जाने कामदारको संख्या भने बढेको छ । ‘भिसा जारी भए पनि अलि पछि गए हुने कामदारलाई स्वीकृती दिलाएर पठाइरहेका छौं । साथै, छुट्टीमा आएर बसेका र संस्थागत रुपमा जाने कामदारलाई पनि पठाइरहेका छौं,’ उनले भने ।

    कोभिड–१९ को पहिलो लहरमा नै सबैभन्दा धेरै नेपाली रोजगारीका लागि जाने मुलुक मलेसिया र कुवेत बन्द भएका छन् । तर, कोभिडपछि पनि साउदी अरेविया र कतारबाट भने धेरैको संख्यामा कामदारको माग भइरहेको थियो । पहिलो लहरको कोभिडपछि १ लाख ६५ हजार कामदार म्यानपावरबाट वैदेशिक रोजगारका लागि गएको गैरेको भनाइ छ । अहिले पनि साउदी अरेविया र कतारबाट करिब २ लाखको हाराहारीमा माग आएको र प्रक्रियामा रहेको गैरेले बताए ।

    कतारमामा कामदार पठाउनका लागि प्रक्रिया पाइपलाइनमा छ । आउँदो एक महिनाभित्र पूर्व स्वीकृती लिएका करिव १ लाख ६० हजार कामदार गन्तव्य मुलुकमा पु¥याउने योजना रहेको गैरे सुनाउँछन् ।

    तर, महामारीमा मानव जीवननै पहिलो प्राथमिकता भएको उनको भनाइ छ । ‘मान्छे बाँचेमात्रै फेरि पनि रोजगारीका लागि जान सक्छन् । अहिले सरकारलाई सघाउनु नै हाम्रो पनि दाहित्व हो,’ उनले भने, ‘नेपालले अहिले कामदार वैदेशिक रोजगारमा पठाउँदा सोच्नु पर्ने बेला पनि आएको छ । हामीले अहिले बैदेशिक रोजगारमा जानका लागि जर्वजस्ती गर्ने हो भने नेपाल तुरुन्तै रेड जोनमा पर्न बेर छैन । भारतबाट नजिक रहेको नेपालमा पनि दैनिक कोभिडका विरामी बढिरहेका छन् यो समयमा संयम अपनाउँदै अगाडि बढ्नुको विकल्प छैन ।’

    कोरोनाको दोस्रो भेरियन्टको असर बढ्दै गइरहेको समयमा सरकारले अन्तर्राष्ट्रिय उडान राकेर राम्रो काम गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए । विभागले बुधबार बेलुकासम्म जति सक्दो बढी कामदार जान सकुन भनेर अनलाइन र अफलाइनमार्फत श्रम स्वीकृती दिइरहेको उनले जानकारी दिए ।

    नेपालबाट वैदेशिक रोजगारको मुख्य गन्तव्य साउदी अरब र कतारमा कोभिडको दोस्रो लडर देखिएको छैन । ‘त्यसैले ती गन्तव्यमा जानका लागि कामदारलाई रोकेका छैनौं । हामीले जति सक्छौं त्यतिलाई कुनै वाधा नगरी नै श्रम स्वीकृती प्रदान गर्ने छौं’, उनले भने । अव २२ गते रातिदेखि उडान रोकिएपछि वैदेशिक रोजगारमा जानेका लागि के गर्ने भन्ने विषयमा चाँहि आज छलफल हुने उनले बताए ।

    सरकारले तीन दिनको समयसीमा राखेर अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपछि दैनिक उडान संख्यासमेत बढेको छ । निषेधाज्ञा जारी हुनुपूर्व दैनिक १० देखि १५ वटा अन्तराष्ट्रिय उडान भएकोमा अहिले निषेधाज्ञापछि दैनिक १८ देखि २० वटा उडान भएको नागरिक उड्डयन प्राधिकरणका प्रवत्ता राजकुमार क्षेत्रीले बताए ।

    अहिले २६ सयदेखि ३ हजारसम्म यात्रुले हवाई यात्रा गरिरहेको उनको भनाइ छ । यो भन्दा अघि भारतबाट ट्रान्जिटका लागि आएका यात्रुका कारण दैनिक बढीमा २४ सयसम्मले हवाई यात्रा गरेका थिए । तर, ट्रान्जिटका लागि आउने भारतीय नागरिकलाई सरकारले अनुमति नदिएपछि हवाई यात्रु घटेका थिए ।

    वैदेशिक रोजगारका लागि जाने नेपाली कामदार, कूटनीति क्षेत्रका व्याक्ति, र संस्थागत रुपमा जाने यात्रुका कारण अन्तर्राष्ट्रिय उडानमा यात्रु बढेको क्षेत्री बताउँछन् ।

  • २२ बैशाख २०७८, बुधबार ११:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images