किन रिहा भएनन् रेशम चौधरी ?
  • CIA Khabar

  • काठमाडौं । सरकारले जनता समाजवादी पार्टी नेपाल(जसपा) को मागअनुसार १२० भन्दा बढीको मुद्दा फिर्ता गरेको छ । जसपाले चैत २६ गते २४ थान मुद्दा फिर्ताका लागि गृहमन्त्रालयमा फाइल बुझाएको थियो । सोही फाइलअनुसार सुरुमा १५ थान मुद्दा फिर्ता भएको हो । तर, त्यसमा रेशम चौधरीको नाम परेन ।

    रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएर सरकारसँग जसपाले वार्ता गरिरहेको थियो । तर, १२० जनामा रेशम चौधरीको नाम नदेखेपछि जसपाका कार्यकर्ता, खासगरी थरूहटमा निराशा देखिएको छ । जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले रेशम चौधरीको मुद्दा फैसला भइसकेको र त्यसको रिहाइका लागि सर्वोच्चमा मुद्दा चलिरहेको हुँदा त्यहीँबाट उनको रिहाइको छिनोफानो हुने बताउँछन् ।

    उनले भने, रेशम चौधरीको मुद्दा फरक खालको छ, मन्त्रिपरिषद्को निर्णयले मात्र रिहाइ हुने अवस्था छैन, अदालतको फैसलाबाट मात्रै रिहाइ हुने भएकाले यसमा उहाँको नाम नदेखिएको हो । रिहाइको प्रकृया सुरु भइसकेको छ, आशा गरौं उहाँ चाँडै रिहा हुनुहुन्छ ।’

    सरकारसँग वार्ता गर्न बनेको कार्यदलको सदस्य समेत रहेका नेता कर्णले मन्त्रिपरिषदबाट निर्णय हुन बाँकी रहेका ९ जनाको मुद्दा पनि चाँडै फिर्ता हुने बताए । जसपाका अन्य मागका बारेमा भने सरकारसँग छलफल चलिरहेको उनले बताए ।

    जसपाले मुद्दा फिर्ता, राजबन्दी रिहाइ, संविधान संशोधन, नागरिकताको समस्या, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग राख्दै ओली सरकारसँग वार्ता गर्दै आइरहेको छ । वार्ताका लागि सरकारका तर्फबाट कार्यदलमा सुवास नेम्वाङ, डा।राजन भट्टराई र विष्णु पौडेल छन् भने जसपाका तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिन लागेका बेला जसपाको महन्थ ठाकुर पक्षलाई फकाई रहेका छन् । लुम्बिनी प्रदेशमा बिच्किएका जसपाका नेताहरुलाई एमालेले फकाइसकेको छ । यता काठमाडौंमा पनि ठाकुर पक्षलाई विश्वासमा लिने क्रम प्रधानमन्त्री ओलीले जारी राखेका छन् । ठाकुर पक्षले पनि ओलीको समर्थनमा हस्ताक्षर संकलन अभियान चलाइरहेको छ ।

  • २२ बैशाख २०७८, बुधबार १५:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images