कान्ति बाल अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित
  • CIA Khabar

  • काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेका सँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ ।
    गत वर्षभन्दा यो वर्ष सङ्क्रमण फैलिने दर उच्च भएकाले सङ्क्रमित थपिरहेको अस्पतालले जनाएको छ । एक सातायता दिनमा एक दुईजना देखिएकामा आज एकै दिन बढी सङ्ख्या देखिएको अस्पतालका प्रवक्ता डा कृष्णप्रसाद विष्टले बताए । उनले भने, “सङ्क्रमण सबैतिर बढिरहेमा यहाँ पनि बढ्न सक्छ ।”

    कोभिडकै उपचारका लागि तोकिएको अस्पताल नभएकाले अरू स्वास्थ्य समस्या लिएर आएका बिरामीको परीक्षण गर्दा कोभिड पाइएको अस्पतालले जनाएको छ । रुघा, खोकी, ज्वरो, निमोनिया भएर आएका ती बालबालिकामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.विष्टले बताए ।

    अस्पतालले कुनै पनि बालबालिका अस्पताल छिर्नासाथ ज्वरो हेर्न ‘फिबर क्लिनिक’ को व्यवस्था गरेको छ । कोभिडसँग मिल्दो लक्षण भएका शङ्कास्पद बिरामीलाई छुट्टै वार्डमा राखिने गरिएको प्रवक्ता डा विष्टले बताए । बालबालिकाको रिपोर्ट पोजेटिभ भएमा कोभिडका लागि छुट्याइएको श्ययामा उपचार गरिन्छ । सङ्क्रमित नभएको पाइएमा अरू सामान्य श्ययामा उपचार गरिने उनले बताए । उनले भने, “अहिले पनि अस्पतालमा कोभिडभन्दा अरू बिरामी धेरै छन् ।”

    अस्पतालले नियमित सेवालाई निरन्तरता दिइरहेको भए पनि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि बिरामीको सङ्ख्या ह्वात्तै घटेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा बहिरङ्ग सेवा, आकस्मिक सेवा गरेर दैनिक सातदेखि आठ सयसम्म बिरामी आउने गरेका थिए । अहिले दैनिक झण्डै एक सयदेखि डेढ सयसम्म छ । उनले भने, “यातायातको साधन नभएकाले पनि आउन नसकेको हुनसक्छ ।”

    अस्पतालले दुई भेन्टिलेटर र चार आइसीयुसहित २६ श्यया कोभिड सङ्क्रमित बालबालिकाका लागि छुट्याइएको छ । यी सबै श्ययामा अक्सिजनको व्यवस्था छ । सङ्क्रमितको सङ्ख्या बढेर आवश्यक भएमा थप श्ययाको व्यवस्था गर्न सकिने उनले बताए ।

  • २२ बैशाख २०७८, बुधबार १५:४७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images