गण्डकी प्रदेश प्रमुखबाट कार्यकर्ताको जस्तै अभिव्यक्ति आयो : दलहरु
  • CIA Khabar

  • गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले संवैधानिक मर्यादा नाघेर अभिव्यक्ति दिएको भन्दै दलहरुले आलोचना गरेका छन् । पदभार ग्रहण गरेलगत्तै प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको औचित्य सकिएको र सभामुख नेत्रनाथ अधिकारीको राजीनामा माग्नुपर्ने समय आएको बताएकी थिइन् । पदभार ग्रहणकै दिन उनी आफ्नो अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी हुन् ।

    उनले तल्लोस्तरका कार्यकर्तालेसमेत व्यक्त गर्न नसुहाउने खालको अभिव्यक्ति दिएको भन्दै दलहरुले आपत्ति जनाएका छन् । काँग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपाली पोखरेलले नवनियुक्त प्रदेश प्रमुख पौडेलले सभामुख र संसदीय कार्यसूचीमाथि गलत अभिव्यक्ति दिएको बताए । उनले प्रदेश प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले सामान्य कार्यकर्ताले समेत भन्न नसुहाउने अभिव्यक्ति दिएको टिप्पणी गरे ।

    ‘प्रदेश प्रमुखजस्तो सम्मानित र गरिमामय पदमा नियुक्त भएको व्यक्तिले यस्तो तल्लोस्तरमा झरेर अभिव्यक्ति दिनुभयो, यो पटक्कै सुहाउने कुरा होइन,’ उनले भने, ‘उहाँले दिएको अभिव्यक्तिले प्रदेश प्रमुखको मर्यादा र गरिमालाई घटाएको छ ।’ नेता पोखरेलले संविधानको धज्जी उडाउँदै आफ्नो क्षेत्राधिकार बाहिर गएर प्रदेश प्रमुखले अभिव्यक्ति दिएको आरोप लगाए ।

    राष्ट्रिय जनमोर्चा, गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले नवनियुक्त गण्डकी प्रदेश प्रमुखले पार्टी कार्यकर्ताको जस्तो व्यवहार देखाएको आरोप लगाए । उनले प्रदेश प्रमुख स्वतन्त्र र तटस्थ बन्नु पर्ने भूमिकालाई बिर्सिएर एउटा पार्टीको कार्यकर्ता बनेर संविधान विपरीत अभिव्यक्ति दिएको बताए ।

  • २२ बैशाख २०७८, बुधबार २१:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images