कतारमा सरकारले तोकेको पारिश्रमिक नपाएपछि श्रमिक आन्दोलित
  • CIA Khabar

  • दोहा । कतार सरकारले तोके अनुसारको पारिश्रमिक नदिएको भन्दै श्रमिकहरु आन्दोलित भएका छन् ।

    कतारको अलखोरमा रहेको कतार सेक्युरिटी सेर्भिसेस कम्पनीमा कार्यरत कामदारहरु सरकारले तोकेको पारिश्रमिक नपाएको भन्दै आन्दोलित भएका हुन् ।

    कम्पनीको सानैया लगायत विभिन्न स्थानहरुमा रहेको क्याम्पमा बुधबार बिहान पारिश्रमिक दिएको थियो । सरकारले भने अनुसारको पारिश्रमिक नपाएपछि उनीहरुले कम्पनीविरुद्ध नारावाजी गर्नुका साथै कामकाज ठप्प पारेका हुन् ।

    नारावाजी तथा आन्दोलनमा सहभागी सेक्यूरिटी गार्डहरुले उक्त कम्पनीले पटक-पटक श्रमिकको श्रम शोषण गरेको हुँदा आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।

    यस पटक सरकारले तोके अनुसारको पारिश्रमिक नदिए काममा नजाने उनीहरुले बताएका छन् । आन्दोलनमा नेपालीसहित बंगलादेश, भारत, केनिया, युगान्डा, पाकिस्तान लगायतका कामदारहरु सहभागी छन् ।

    कतारले मार्च महिनादेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको थियो । कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनी परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो ।

    नयाँ कानुन अनुसार सबै निजी क्षेत्रका श्रमिकहरुका साथै घरेलु कामदारहरुले प्रति महिना १ हजार रियाल पाउने व्यवस्था गरेको थियो । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

    खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने नयाँ कानुनमा व्यवस्था छ । यो नयाँ पारिश्रमिक मार्चदेखि नै लागू हुने बताइएको भएपनि अहिलेसम्म धेरै कम्पनीहरुले लागू नगरेका उनीहरुले बताएका छन् ।

    केही दिन अघि मात्र युरोपियन सेक्युरिटी कम्पनीमा पनि तोके अनुसारको पारिश्रमिक नपाएको भन्दै त्यहाँका कामदारले हड्ताल गरेका थिए ।

  • २३ बैशाख २०७८, बिहीबार ०८:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images