झापा । आजबाट झापामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना संक्रमण तीब्र रुपले फैलिएपछि बैशाख मसान्तसम्मका लागि पूर्ण निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
यसअघि बैशाख १९ गतेबाट जारी गरिएको निषेधाज्ञामा सम्पूर्ण पसलहरु बिहान ११ सम्म खोल्न पाउनुका साथै निजी तथा सार्वजनिक सवारीसाधन जोर बिजोर प्रणालीका आधारमा संचालन गर्न दिइएको थियो ।
तर, अब खाद्यवस्तु, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध डेरी, निर्माण सामाग्री पसल लगायत अत्यावश्यक पसल मात्र बिहान ६ देखि १० बजेसम्म संचालन गर्न पाइनेछ ।
त्यस्तै अत्यावश्यक बाहेकका सम्पूर्ण सवारीसाधन संचालनमा रोक लगाइएको छ ।
एम्बुलेन्स, खानेपानी, इन्धन तथा लुब्रीकेन्ट, स्वास्थ्य, तरकारी, खाद्यान्न, इन्टरनेट, दूध तथा दुग्धजन्य, पशुपंछी तथा पशुपंछी जन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्था, रेडक्रस लगायत अत्यावश्यक सवारीसाधनलाई प्रयोजन खुलाएर संचालन गर्न दिइने जनाइएको छ ।










