सेयर बजार घट्दा पनि ९ कम्पनीको मूल्यवृद्धि उच्च
  • CIA Khabar

  • काठमाडौं । सेयर बजार परिसूचक नेप्से ओरालो लाग्दा पनि ९ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से १२।४७ अंकले घटेको छ । ०।४७ प्रतिशतले घटेर नेप्से २६३७।१३ बिन्दुमा पुगेको हो ।

    नेप्से सामान्य अंकले घट्दा पनि ९ कम्पनीको सेयर मूल्यमा उछाल देखिएको छ । खानीखोला जलविद्युत् कम्पनी र जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ ।

    १५ रुपैयाँले बढ्दा खानीखोला जलविद्युत्‍को सेयर मूल्य १६५ रुपैयाँ कायम भएको छ । ३६१ रुपैयाँले बढेको जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य ३९७२ रुपैयाँ कायम भएको छ । बोनस सेयर वितरणपछि नेप्सेले जनउत्थान सामुदायिकको मूल्य समायोजन गरेको थियो । समायोजनअघि लघुवित्तको सेयर मूल्य ५३९५ रुपैयाँ थियो ।

    महिला लघुवित्तको सेयर मूल्य ४५७ रुपैयाँले बढेर ५०३० रुपैयाँ पुगेको छ । समता लघुवित्त, रु रु जलविद्युत्, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर र लक्ष्मी बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य १३ रुपैयाँले बढेर १६६ रुपैयाँ कायम भएको छ ।

    कारोबारमा आएकामध्ये बैंकिङ, फाइनान्स र इनभेष्टमेन्ट समूहबाहेक सबै समूहका परिसूचक कमजोर छन् । पछिल्लो समय लगातार बढिरहेको विशाल बजार कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । विशालबजारको सेयर मूल्य घटेर सर्किट ब्रेकर लागेको छ । ७४६ रुपैयाँले घटेर ६ हजार ७ सय १६ रुपैयाँ कायम भएको छ । सिंगटी हाइड्रोपावरको सेयर मूल्यमा पनि भारी गिरावट आएको छ । ९।०७ प्रतिशतले घटेर यो कम्पनीको सेयर मूल्य ४८१ रुपैयाँ कायम भएको छ ।

    ६ अर्ब ८१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ८० हजार १४१ पटकको कारोबारमा १ करोड ५९ लाख कित्ता सेयर किनबेच भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इनभेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को अत्यधिक सेयर कारोबार भएको छ । कम्पनीको ४६ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एनसीसी बैंकको ४२ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार १६:०७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images