कर्णाली प्रदेश सरकार धरापमा
  • CIA Khabar

  • केन्द्रमा संस्थापन पक्ष र खनाल–नेपाल समूहबीच तीव्र विवाद भइ समानान्तर कमिटी गठन भइरहँदा कर्णाली प्रदेशमा भने एमाले एकढिक्का भएको छ । पार्टीको निर्णयअनुसार माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारबाट एमालेका तीन मन्त्रीले राजीनामा दिएका छन् ।

    मंगलबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् ।

    कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । सोमबार नै राजीनामा दिने भनिएपनि मन्त्रीहरुले मंगलबार राजीनामा दिएका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते सो पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    एमालेका तीन जना मन्त्रीहरुले राजीनामा दिएसँगै शाही नेतृत्वको कर्णाली प्रदेश सरकार पद धरापमा परेको छ । चैत ४ गते एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, त्यतिबेला एमालेकै खनाल–नेपाल समूहका सांसदले समर्थन फिर्ता नलिने बताएको थियो । तर पछिल्लो समय एमाले एक ढिक्का भएपछि प्रदेश सरकार अल्पमतमा पर्ने र एमालेले समर्थन फिर्ता लिनासाथ सरकार ढल्ने पक्कापक्की देखिन्छ ।

  • २४ चैत्र २०७७, मंगलवार १४:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images