कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसको आठ सुझाव
  • CIA Khabar

  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमितको संख्या बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसको कोभिड-१९ अनुगमन समितिले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको हो ।

    समिति संयोजक एवं कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पछिल्ला दिनमा कोराना संक्रमितको संख्या ह्वातै बढेको र भविष्यमा भयावह स्थिति आउन सक्ने सम्भावनालाई पार्टीले गम्भीरताका साथ लिएको बताएका छन् ।

    प्रेस विज्ञप्ति
    कोभिड-१९ अनुगमन समिति
    चैत्र ३१, २०७७

    कोभिड-१९ को कू–व्यवस्थापन, चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामाग्री खरीदमा भएको व्यापक भष्ट्राचारको नेपाली कांग्रेसले निरन्तर विरोध गर्दै आएको हो ।

    कोभिड-१९ को संक्रमण कम हुँदै गए पनि फेरि संक्रमण विस्तार हुन सक्ने र विश्वका अन्य देशहरुमा देखिएका कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावना प्रति सरकार उदासिन भएका कारण अहिले फेरि कोभिड—१९ को संक्रमण फैलदो छ ।

    अहिले संक्रमितको संख्या ह्वातै बढेको छ भने गम्भीर विरामी भएर आइसियुमा बस्नु पर्ने विरामीहरुको संख्या र मृतकको संख्या पनि बढ्दो छ ।

    भविष्यमा अझ भयावह स्थिति आउन सक्ने सम्भावनालाई नेपाली कांग्रेसले गम्भीरताका साथ लिएको छ ।

    नेपाली कांग्रेस कोभिड-१९ संक्रमण रोक्न आवश्यक निम्न लिखित काम तत्काल अगाडि बढाउन सरकारसँग जोडदार माग गर्दछ ।

    (१) गम्भीर विरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गरियोस् ।

    (२) अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सिमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गरियोस् ।

    (३) कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पिसिआरको परिक्षण दायरालाई व्यापक गरियोस् ।

    (४) कोभिड—१९ को विरुद्ध आम जनतालाई खोप पु¥याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाइयोस् । खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गरियोस् ।

    (५) स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन । यसले गर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको छ ।

    स्वास्थ्यकर्मीहरुको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् । साथै अस्पतालहरुमा स्वास्थ्यकमीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरुको व्यवस्था तत्काल गरियोस् ।

    (६) पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गर्दछौं ।

    (७) देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ ।

    साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं ।

    (८) समग्रमा कोभिड-१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं ।

    अन्तमा, कोभिडको कारण २०७८ संकटपूर्ण हुन नदिन स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई अनिवार्य मास्क लगाउने, सेनेटाइजर र सावुन पानीको प्रयोग गरी हात सफाईमा ध्यान राख्ने र भौतिक दुरी कायम गर्दै संक्रमणको जोखिमलाई कम गर्न अनुरोध गर्दै नयाँ वर्ष २०७८ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौं ।

    जय नेपाल !

    डा. प्रकाशशरण महत
    सह–महामन्त्री
    एवं
    संयोजक
    कोभिड–१९ अनुगमन समिति

  • ३१ चैत्र २०७७, मंगलवार १९:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images