आज पनि भिटामिन ‘ए’ खुवाइँदै
  • CIA Khabar

  • सरकारले आज पनि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले सोमबार खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन थालिएको जानकारी दिए ।

    सरकारले ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गरेर हिजो (सोमबार) र आज छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन थालेको छ ।

    उक्त कार्यक्रमअन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढीलाई जुकाको औषधि खुवाइँदै छ ।

    ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गत ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएको छ ।

    उनका अनुसार भिटामिन ‘ए’ छ महिनादेखि एक वर्ष उमेर समूहका बालबालिकालाई आधा क्याप्सुल (एक लाख युनिट) र एक वर्षदेखि पाँच वर्षमुनिकालाई एकवटा क्याप्सुल (दुई लाख युनिट) तथा जुकाको औषधि एक वर्षदेखि दुई वर्ष उमेर समूहका लागि आधा ट्याबलेट (२०० मिलीग्राम) र दुई वर्षदेखि पाँच वर्षमुनिकालाई एक ट्याबलेट (४०० मिलीग्राम) खुवाउने गरिन्छ ।

    सरकारले विसं २०५३ बाट भिटामिन ए र विसं २०५८ देखि जुकाको औषधि खुवाउँदै आएको छ । वर्षमा दुईपटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ ।

    यस्तै भिटामिन ए र जुकाको औषधिसँगै आज बालभिटासमेत वितरण गर्न थालिएको छ ।

    बालभिटा छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाइने गरिन्छ । विसं २०७२ बाट शुरु गरिएको बालभिटा आठ लाख बालबालिकालाई खुवाउन थालिएको छ । बालभिटा ४६ वटा जिल्लाका बालबालिकालाई दिइने गरिन्छ ।

  • ७ बैशाख २०७८, मंगलवार १०:३७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images