बुटवल । निषेधाज्ञाको मौका छोपी अवैधरुपमा वन फडानी गरी काठ ओसार पसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ बालापुर वनबाट अवैध रुपमा सालको काठ कटानी गरी रातिको समयमा बलेरो जिपमा ल्याउँदै गर्दा प्रहरीले दुई जनाई पक्राउ गरेको हो ।
लु १ च ८२१३ नम्बरको को बोलेरोमा ३६ क्यूफिट सालको काठ ओसारपसार गर्ने क्रममा दिनेश थारु र विष्णु थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिवाकर रिजालले बताए ।
वनबाट आइतवार बिहान करिब साढे ३ बजे काठ ओसार पोसार गर्दै गरेको अवस्थामा ती युवालाई पक्राउ गरेको उनले बताए । प्रहरी निरीक्षक रिजालका अनुसार काठ ओसारपसार भैरहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
सोही बलेरो जीप र दुबै जनालाई आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय लगिएको प्रहरीले बताएको छ ।
यता मर्चवारी गाउँपालिकाको पिप्रवहवाबाट ल्याईएको ६३ गोलिया सिसौंको काठ प्रहरीले बरामद गरेको छ । लु ३ प ८६९४ नम्बरको ट्याक्टरमा शिसौको गोलिया लोड गरी सिद्धार्थनगर नगरपालिका वडा नं। ४ मा अनलोड गर्ने क्रममा प्रहरीले फेला पारेको थियो ।
रातिको समयमा ल्याइएको काठ चेकजाँच गर्ने क्रममा कुनै कागजात फेला नपारेपछि प्रहरीले शिद्धार्थनगर नगरपालिका वडा नं। ११ बस्ने रसुल मियाँ र कोटहीमाई गाउँपालिका वडा नं। ६ का जितेन्द्र यादबलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।