काठमाडौँ । गुणस्तरहीन स्यानिटाइजर उत्पादन तथा विक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका-१ कुपन्डोल बस्ने पाल्पा तानसेन नगरपालिका-१ घर भएका २३ वर्षीय दुर्गा भट्टराईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।
कोभिड-१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी बिक्री वितरण र कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको उनले बताए ।
औषधि व्यवस्था विभागमा दर्ता नगरी ‘wicklow ways wines Hand sanitizer 70% alcohol’ लेखिएको चाइनिज ब्राण्डको लोगो गुगलबाट सर्च गरी नक्कली स्टिकर टाँसेर आफै डाउनलोड गरी प्रिन्ट गरेर प्रयोग गरेको तथा हानिकारक मिथानोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
साथै बोतल, ग्यालन र बिक्री गर्न तयार पारेर राखिएको कार्टुनसहित अन्दाजी ३ हजार ८१ लिटर स्यानिटाइजर समेत प्रहरीले बरामद गरेको जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।