जनचेतना की यौन प्रवर्द्धन ? महाराष्ट्रमा रबरको लिंगबारे बहस
  • CIA Khabar

  • काठमाडौं- स्थानीय स्वास्थ्यकर्मीले जनचेतना अभिवृद्धि गर्न प्रयोग गर्ने परिवार नियोजनको किटमा रबरको लिंग राखिएको विषयलाई लिएर भारतको महाराष्ट्र राज्यमा विवाद चर्किएको छ ।

    रबरको लिंगको नमूनाका कारण परिवार नियोजनका सामग्रीको किट बोक्न महिला स्वास्थ्य कार्यकर्तालाई अफ्ठ्यारो पर्ने विपक्षी सांसदहरुले तर्क गरेका छन् । तर, सोही लिंगका नमूना यसअघि पनि कुनै झन्झटबिना नै प्रयोग गरेको केही कार्यकर्ताहरुले बताएका छन् ।

    किटमा रबरको पाठेघर पनि समावेश छ । तर, यसलाई लिएर कुनै विवाद गरेको देखिदैन । भारतको प्राथमिक र सामुदायिक स्वास्थ्य कार्यक्रममका महत्वपूर्ण हिस्सेदार ठहरिएका मान्यताप्राप्त सामाजिक स्वास्थ्य कार्यकर्ता (आशा) लाई किट प्रदान गरिएको थियो ।

    उनीहरुले प्रजनन स्वास्थ्यबारे घर घरमा मानिसहरुलाई शिक्षित गर्नेदेखि परिवार नियोजनका साधनहरुको प्रयोगबारे चेतना फैलाउनेलगायतका काम गर्छन् । अझै पनि भारतका धेरै भागहरूमा यौनलाई सामाजिक कलंंकको रुपमा हेर्ने गरिएका कारण यस्ता विषय निकै संवेदनशील मानिन्छन् ।

    महाराष्ट्रमा लिंग मोडलका परिवार नियोजनका करीब २५ हजार किट स्वास्थ्यकर्मी र ग्रामिण स्वास्थ्य केन्द्रमा वितरण गरिएको राज्यको स्वास्थ्य विभागकी अधिकारी डा. अर्चना पटिलले जानाकारी दिइन् ।

    राज्यको बुल्दान जिल्लाबाटबाट यसबारे नकारात्मक टिप्पणी आएको उनको भनाइ छ । प्रजनन स्वास्थ्यबारे बोल्न अन्कनाउने मानिसहरुका अगाडि लिंग र गर्भाशयको नमूना बोक्नु लाजमर्दो भएको केही कार्यकर्ताले बताएका छन् । तर, त्यो आफ्नो रोजगारीको अंश भएको उनीहरु बताउँछन् ।

    यद्यपि सो नमूना प्रयोग गर्न कसैलाई पनि बाध्य नपारिएको डा. पटिल बताउँछिन् । ‘स्वास्थ्यकर्मीहरूलाई यी मुद्दाहरूको बारेमा खुलेर बोल्न अप्ठ्यारो लाग्छ भने कसरी काम हुन्छ ?’ उनले प्रश्न गरिन् ।

    तर, भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मा आबद्ध सांसदहरुले भने त्यसको विरोध गरेका छन् । महाराष्ट्रमा भने भाजपा प्रतिपक्षमा छ । बुल्दानबाट प्रतिनिधित्व गर्ने भाजपा सांसद आकाश फुन्दकरले ती किट फिर्ता लिएर स्वास्थ्यकर्मीसँग माफी माग्नुपर्ने माग गरेका छन् ।

    राज्यका भाजपा पार्टी उपाध्यक्ष चित्रा वाघले सरकारले ‘यौन भोग’ लाई प्रबद्र्धन गरेको आरोप लगाएकी छिन् ।

  • १० चैत्र २०७८, बिहीबार १२:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images