संसद् बैठकमा मन्त्रीको खोजी
  • CIA Khabar

  • काठमाडौं– संसद् बैठकमा सरकारको प्रतिनिधिको रुपमा मन्त्रीहरू उपस्थित हुनुपर्ने हुन्छ । तर, बुधबारको प्रतिनिधिसभाको बैठकमा उनै सरकारका प्रतिनिधिका रुपमा रहने मन्त्रीको खोजी भएको हो ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा माओवादीका सांसद पूर्णबहादुर घर्तीले बोलिरहँदा नियमापत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मन्त्रीको खोजी गरेका हुन् ।

    घर्ती बोलिरहँदा उठेर श्रेष्ठले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले ‘केमा नियमापत्ति’ हो भन्दै प्रश्न गरे । यसपछि सांसद श्रेष्ठले बैठकमा एक जना पनि मन्त्री नभएको भन्दै नियमापत्ति जनाए । तर, सभामुख घिमिरेले बैठकमा ऊर्जा राज्यमन्त्री दीपक सिंह उपस्थित रहेको बताए । फेरि सांसद श्रेष्ठले राज्यमन्त्री रहेर नहुने भन्दै सरकारको जवाफदेहिताप्रति प्रश्न उठाए ।

    साथै बैठक चलिरहँदा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्थाबारे स्मरण गराए । मन्त्रीहरू बाहिर भित्र गरिरहेको जानकारी गराउँदै सभामुख घिमिरेले पुनः मन्त्री आउने बताए । सभामुख घिमिरेको जवाफपछि सांसद श्रेष्ठले आफूले सभामुखको ध्यानाकर्षण गराउन मात्र खोजेको बताए । यसपछि बैठक चलिरहेको छ ।

  • ३ फाल्गुन २०७९, बुधबार १३:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images