विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम
  • CIA Khabar

  • आज असार ११, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून २६, २०२३ ।

    विश्वसँग असल राजनीतिक रआर्थिक सम्बन्ध चाहन्छौँ : तालिबान

    अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका नेता मौलवी हैबतुल्लाह अखुन्दजादाले आफ्नो समूहले अन्तर्राष्ट्रिय समुदाय र विशेषगरी इस्लामिक मुलुकहरुसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको बताएका छन् ।

    इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै उनले यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको पनि उल्लेख गरेका छन् ।

    काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल टोलो न्यूजका अनुसार तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले नेता मौलवी हैबतुल्लाह अखुन्दजादालाई उद्धृत गर्दै इद–उल–अजहाको अवसरमा उक्त सन्देश जारी गरेका हुन् ।

    मुजाहिदको ट्वीटरमा प्रकाशित पत्रमा अखुन्दजादाले भनेका छन्, “जसरी हामी अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, त्यसरी नै हामी अरुलाई हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिँदैनौं ।”

    उनले तालिबान नेतृत्वमा मुलुकको आर्थिक पतन र सङ्कटको भविष्यवाणी गलत साबित भएको दाबीसमेत गरे ।

    तालिबानको ‘बुद्धिमत्तापूर्ण कदम, इमानदारी र पारदर्शिता’ का कारण देश आर्थिक पतन हुनबाट जोगिएको अखुन्दजादाले बताए ।

    उनले लागूऔषधको मुद्दालाई पनि उल्लेख गर्दै भने, “देशमा अफिमको खेती उन्मूलन भइसकेको छ र किसानहरूले विकल्पको खोजी गरिरहेका छन्, र यहाँ कानुनी रूपमा वैध मानिने व्यवसासयीक खेतीको विस्तार भइरहेको छ ।”

    “यसबीचमा, सबै प्रकारका लागूपदार्थको उत्पादन, तस्करी र प्रयोगमा प्रतिबन्ध लगाइएको छ र अब, धेरै नागरिकहरू, विशेष गरी युवाहरू यस क्षतिबाट जोगिएका छन्,” अखुन्दजादाले भनेका छन् ।

    महिला अधिकारका सम्बन्धमा उनले जबर्जस्ती करणीलगायत थुप्रै परम्परागत उत्पीडनबाट महिलालाई जोगाउन ठोस कदम चालिएको र उनीहरूको शरिया अधिकारको संरक्षण गरिएको दाबी गरे ।

    उनले भने, “यसबाहेक, इस्लामी शरिया कानूनअनुसार महिलाहरूलाई आरामदायी र समृद्ध जीवन प्रदान गर्न समाजको आधा भागको रूपमा ‘महिलाहरूको सुधारका लागि आवश्यक कदम’ हरू चालिएका छन् ।’’

    उक्त सन्देशमा अफगान बालिका र महिलाको शिक्षाबारे कुनै उल्लेख गरिएको छैन ।

    अखुन्दजादाले प्यालेस्टिनी महिला, बालबालिका र असहाय मुसलमानहरूमाथि इजरायलले गरेको क्रूर कार्यको कडा शब्दमा निन्दा गरेको र अन्य देशहरूलाई ‘यस अतिवादी मानवीय अपराध र क्रूर अत्याचारलाई रोक्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्न’ आग्रह गर्नुभएको छ ।

    युक्रेनको युद्ध र वाग्नर सङ्कटले रूसी शक्तिलाई कमजोर पारिरहेको छ : ईयू

    आणविक शक्तिमा अस्थिरता ‘राम्रो कुरा नरहेको’ भन्दै युरोपेली सङ्घ ९ईयू० का शीर्ष कूटनीतिज्ञले रुसमा देखिएको वाग्नर समूहको विद्रोहले युक्रेनमा जारी रुसी आक्रमणले रुसको शक्तिलाई विभाजित गरिरहेको देखाएको बताएका छन् ।

    युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, “यो सप्ताहन्तमा जे भएको छ, त्यसले युक्रेनविरुद्धको युद्धले रूसी शक्तिलाई ध्वस्त पारिरहेको छ र यसको राजनीतिक प्रणालीलाई प्रभावित गरिरहेको छ भन्ने देखाउँछ ।”

    “रुसजस्तो आणविक शक्ति अस्थिरताको चरणमा जान सक्छ भन्ने कुरा पक्कै पनि राम्रो होइन । यो पनि ध्यानमा राख्नुपर्ने कुरा हो,” बोरेलले पत्रकारहरूसँग भने ।

    “सबैभन्दा महत्वपूर्ण निष्कर्ष के हो भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सुरु गरेको युद्ध र पुटिनले वाग्नरसँग मिलेर बनाएको अस्वभाविक गठजोडले पुटिन स्वयंमाथि औँला ठडाएको छ,” उनले भने ।

    बोरेलले भने, “अस्वभाविक शक्ति संरचनाले आफ्ना सर्जकविरुद्ध काम गरिरहेको छ, राजनीतिक प्रणालीले कमजोरी देखाइरहेको छ र सैन्य शक्ति ध्वस्त भइरहेको छ ।”

    लक्जेम्बर्गमा भएको आफ्नो नियमित बैठकमा इयूका विदेशमन्त्रीहरू विद्रोहबाट उत्पन्न परिणामको मूल्याङ्कन गर्दै यसलाई स्वभाविक परिणाम बताएका छन् ।

    स्विडेनका विदेशमन्त्री टोबियास बिलस्ट्रोमले अशान्ति रूसको आन्तरिक मामिला भएको बताए ।

    उनले ‘सबैभन्दा महत्वपूर्ण कुरा’ भनेको युक्रेनलाई समर्थन गर्नु रहेको बताउँदै पछिल्ला परिणामले युक्रेनले आफ्नो भूभाग फिर्ता लिन सक्ने पुष्टि गरिरहेको बताए ।

    दिल्ली लैजानु पर्ने विमान जयपुर लगेपछि‘
    ड्युटी सकिएको भन्दै पाइलट हिँडेपछि जयपुरमा ६ घन्टासम्म यात्रु अलपत्र परेका छन् ।

    लण्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबका कारण पाइलटले जयपुरमा अवतरण गराए । तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिँडेपछि जयपुर विमानस्थलमा ६ घण्टासम्म उडानमा सवार यात्रुहरू अलपत्र परेका थिए । समाचार अनुसार ती यात्रुलाई सडकमार्फत दिल्ली पठाइएको थियो ।

    दिल्लीको खराब मौसमका कारण आइतबार तीन अन्तर्राष्ट्रिय र २ आन्तरिक उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो । जसमा एयर इन्डियाको दुई, स्पाइस जेटको दुई र गल्फ स्ट्रिमको एउटा उडान समावेश थियो।

    एयर इन्डियाको उडान एआई–११२ लण्डनबाट बिहान ६ बजे दिल्ली पुग्ने समय तालिका थियो । खराब मौसमका कारण उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो ।

    डाइभर्ट गरिने एयर इन्डियाको दोस्रो उडान दुबईबाट दिल्ली गइरहेको थियो । गल्फ स्ट्रिमको विमान बहराइनबाट दिल्ली जाँदै थियो । स्पाइस जेटको एउटा उडान पुणेबाट र अर्को गुवाहाटीबाट दिल्ली गइरहेको थियो ।

    विमानमा सवार भारतीय मूलका बेलायती नागरिक अदितले जयपुरमा छाडेर पाइलट हिँडे पछि अलपत्र परेका यात्रुलाई रिस उठेको बताए । एयर इन्डियाले दिल्ली पठाउने हवाईजहाजको नयाँ व्यवस्था नगरेको बताए । उनीहरुले उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया र सांसद राज्यवर्धन सिंह राठौरलाई ट्वीट गर्दै गुनासो गरेका थिए ।

    यसपछि एयर इन्डियाले जवाफ दिँदै छिट्टै समाधान गर्ने वाचा गरेको थियो । तर, ६ घण्टाभन्दा बढी जनताले सास्ती खेप्नुपरेको थियो । पछि एयर इन्डियाले केही यात्रुहरूलाई भोल्भो बस र टयाक्सीमार्फत जयपुरबाट दिल्ली पठाउने व्यवस्था गरेको थियो ।

    उडान डाइभर्सनका कारण जयपुर विमानस्थलमा करिब ६ घण्टासम्म सो जहाजमा सवार १५० भन्दा बढी यात्रुले सास्ती खेप्नुपरे पछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो । आक्रोशित यात्रुले विमानस्थलमा नाराबाजी समेत गरेका थिए ।

    यात्रुहरूको असन्तुष्टि हटाउन विमानस्थल प्राधिकरणले उनीहरूलाई खाना र अन्य सुविधा उपलब्ध गराएको थियो ।

    भारतको उडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, २० घाइते
    भारतको उडिसा राज्यमा भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।

    राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको दुई बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

    रायगडाबाट भुवनेश्वर जाँदै गरेको जन्ती बोकेको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको जनाइएको छ ।

    घटनालगत्तै स्थानीय प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेका थिए । घाइतेहरूलाई उपचारका लागि बर्हम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ ।

    घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    ग्रिसमा कन्जरभेटिभ पार्टी विजयी
    ग्रिसको संसदीय निर्वाचनमा कन्जरभेटिभ न्यू डेमोक्रेसी पार्टीले जित हासिल गरेको छ ।

    आइतबार देशभरका झण्डै ९० प्रतिशत मतदान केन्द्रको आधिकारिक नतिजाले सुधारवादी किरियाकोस मित्सोटाकिसको पार्टीले न्यू डेमोक्रेसी पार्टीले ४० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको देखाएको छ ।

    उनको प्रमुख प्रतिद्वन्द्वी वामपन्थी सिरिजा पार्टीले १८ प्रतिशतभन्दा कम मत प्राप्त गरेको छ।

    जितपछि मित्सोटाकिसले बलियो जनादेशको स्वागत गरेका छन् । उनले सम्बोधनमा जनताले सुरक्षित बहुमत दिएको बताए । ठूला सुधारका लागि अब छिटो अघि बढ्ने उनले प्रतिबद्धतासमेत जनाएका छन् ।

    न्यू डेमोक्रेसीले संसदको ३०० सिटमध्ये १५७ वा १५८ सिट जित्ने अनुमान गरिएको थियो। मे महिनामा भएको पछिल्लो निर्वाचन समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत भएको थियो, जसमा पार्टीले ४१ प्रतिशत मत ल्याए पनि बहुमतबाट पाँच सिट घटेको थियो।

    ग्रीसमा पाँच हप्तामा दोस्रो पटक हिजो आम निर्वाचन भएको हो ।

    विद्रोहीको कब्जामा रहेको सिरियामा रूसी आक्रमण, १३ जनाको मृत्यु
    विद्रोहीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा आइतबार भएको रूसी हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

    इदलिब क्षेत्रको जिस्र–अल–शुगुरमा रहेको फलफूल तथा तरकारी बजारमा दुई बालबालिकासहित कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ ।

    बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स समूहका प्रमुख रामी अब्देल रहमानले भने, “यो वर्ष सिरियामा भएको सबैभन्दा घातक आक्रमण हो र यो नरसंहार हो ।”

    राष्ट्रपति बसर अल असदको शासनलाई समर्थन गर्ने रूसी सेनाले गत हप्ता विद्रोहीले गरेको ड्रोन आक्रमणमा दुई बालबालिकासहित चार सर्वसाधारणको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

    पेशाले मजदुर रहेका ३५ वर्षीय साद फातोले एएफपीसँग कुरा गर्दै घाइतेको उद्धारका लागि आफूले सहयोग गरेको बताए ।

    “रूसी गोलाबारूदहरू हामीमाथि वर्षा भयो,” आक्रमणको समयमा उनी टमाटर र काँक्रो अनलोड गरिरहेका आफुले गाडीबाट टमाटर र काँक्रो भारिरहेको बताउँदै फातोले भने ।

    उनले भने, “यो घटना वर्णन गर्न सकिने दृष्य नै थिएन ।” आँखा अगाडी मृतकहरू, घाइतेहरूलाई देखेपछि आफ्नो काम छोडेर उनीसहित केहीले घाइतेलाई अस्पताल लाने प्रवन्ध गरेको बताए ।

    घटनास्थलमा रहेका एएफपीका एक संवाददाताले घटनास्थलबाट कालो धुवाँको मुस्लो उठेको र एम्बुलेन्स, साइरन बजाउँदै घाइतेलाई बजारबाट अस्पताले पुर्‍याएको देखेका थिए । सिरियाली राष्ट्रपतिलाई लामो समयदेखि विद्रोहीविरूद्धको अभियानमा सहयोग गर्दै आएको छ ।

  • १२ असार २०८०, मंगलवार ०८:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images