नेपाल मलेसियासँग ६ विकेटले पराजित
  • CIA Khabar

  • काठमाडौँ– चार देश सम्मिलित महिला ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएको छ ।

    बायोमास ओभल मैदानमा नेपालले दिएको ८५ रनको लक्ष्य घरेलु टोली मलेसियाले १६ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यसअघि हङकङ र कुवेतलाई पराजित गरेको नेपाल आज मलेसियासँग पराजित भएपनि फाइनल भने खेल्ने भएको छ ।

    नेपालविरुद्ध मलेसियालाई जित दिलाउन अनिना हमिजाह हासिमले ३७ रनको नटआउट पारि खेलिन् । यसैगरी महिराह इस्माइलले २१ रन बनाउँदा वान जुलियाले ८ रनको योगदान गरिन् । नेपालका लागि पुजा महतो, सिता रानामगर, रुविना क्षेत्रीले एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमा ८३ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३ रन, इन्दू बर्माले २० रन र काजल श्रेष्ठले १८ रनको योगदान गरे। बलिङमा मलेसियाकी अइना हसिम, महिराह इजाती इम्माइल र नुर समादले २–२ विकेट लिए।

    यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो।

    सिरिजपछि नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्नेछ।

    मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

    प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।

    समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्। विश्वकप छनोटमा १० टिम सहभागी हुँदा दुई टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

  • ८ भाद्र २०८०, शुक्रबार १६:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images