रामेछाप । डिभिजन बन कार्यालय रामेछापले योजनाको कामनै नसकी भुक्तानी दिएको खुलासा भएको छ । डिभिजन बन कार्यालयले जिल्ला अस्पताल रामेछापको मूल ढोका सँगैको ढोकामा बनाउँदै गरेको करिब २५ लाख रुपैयाँको लगानीमा निर्मित उक्त पार्कको कामनै नसकी कार्यालयका प्रमुख ओम सागर भण्डारी र सहायक बन अधिकृत देवेन्द्र यादव समेतको मिलेमतोमा भुक्तानी दिएको खुलासा भएको हो ।
कार्यालयको कुल २५ लाख रुपैयाँ र श्रमदान १० प्रतिशत समेत १ लाख रुपैयाँ गरी कुल २६ लाखको लागतमा स्थानीय उपभोक्ता समितिले २०८० साल असार १३ गते सम्म काम सम्पन्न गरिसक्नु पर्ने गरी कामको जिम्मा लिएको थियो । उक्त पार्क निर्माणको काम सम्पन्न नहुँदै सबै काम सम्पन्न भएको भनी कार्यालयले सबै रकम गत असमानै उपभोक्ता समितिका नाममा निकासा गरेको थियो ।
२०६६ वैशाख १० गते जिल्ला अस्पताल नजिकैको वादी पाखा सामुदायिक बनको जङ्गलमा लागेको आगो निभाउने क्रममा तत्कालीन १३ जना सैनिक जवानहरूले डढेलोमा परेर ज्यान गुमाएका थिए । त्यसैको संंझनामा १३ मध्य अन्यको नाम शिला लेखमा रहने र एक जना कमान्डरको भने सालिक राख्ने गरी स्टमेट भएको थियो । तर कार्यालयले प्राविधिकले तयार गरेको स्टमेटकोनै ख्याल नगरी रकम भुक्तानी दिइएको पाइएको हो ।
यस बारेमा डिभिजन बन कार्यालय रामेछापमा सम्पर्क गर्दा त्यहाँको निमित्त प्रमुख मनीलाल कुन्दनले भने यस बारेमा आफूलाई कुनै पनि जानकारी नभएकोले सहायक बन अधिकृत देवेन्द्र यादव सँग सम्पर्क गर्न आग्रह गरे ।
सोही आधारमा यादव सँग सम्पर्क गर्दा उनले सैनिक कमान्डरको स्ट्याचु सहितको योजनाको स्टमेट गरिदिने रामेछाप नगरपालिकाले योजना सम्पन्न भएको भनी पठाएको कागजात र प्रतिवेदनका आधारमा मात्र कार्यालयले रकम भुक्तानी गरेको बताए । उनले भने काम बाँकी बस्नुमा कार्यालयको कुनै पनि दोष छैन । उक्त पार्कको वरिपरि पर्खाल लगाउने र कम्पाउन्ड गर्नै र ढोका हाल्ने काम भने सम्पन्न भएको छ ।