पशुपतिनाथमा आज नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाइने
  • CIA Khabar

  • काठमाडौँ– पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ ।

    आज बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो । पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइने छ । यी सामग्री हरेक वर्ष दुई पटक देखाइन्छ ।

    प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ ।

    यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

    यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो ।

    बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन मङ्गलबार भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम छ ।

    बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहबरमा राख्ने गरिन्छ ।

  • २६ मंसिर २०८०, मंगलवार ०८:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images