अर्थतन्त्र लयमा आएको छ; ६% वृद्धिदरको लक्ष्य भेटिन्छ : मन्त्री महत
  • CIA Khabar

  • काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा आएकाले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भेटिने अवस्था आएको बताएका छन् ।

    भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री डा महतले पर्यटक आगमन, विप्रेषण, शेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा रहेकाले समग्र स्थिति सन्तोषजनक भएको बताए । उनले बहुवर्षीय आयोजनामा स्रोतको सुनिश्चितताका आधारमा बजेटका विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रणका साथै बैंकको ब्याजदर घट्नु र बजार मूल्यवृद्धि पाँच दशमलव पाँचबाट नबढ्नुले पनि सकारात्मक सङ्केत मिलेको स्पष्ट पारे ।

    मन्त्री डा महतले रातो किताबमा तोकिएकोभन्दा बाहिरबाट खर्च गर्ने स्थितिको अन्त्य गर्दै बजेट प्रणालीमा सुधार ल्याएको उल्लेख गरे । समाजका अध्यक्ष डा नारायण खड्काले ज्ञान र सूचनाको केन्द्रका साथै मुलुकको परिवर्तन, सभ्यता र इतिहासको वैभव पनि भएकाले पुस्तकालयलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

    उनले सरकारले समाजका लागि बजेट कटौती गरेको, पुस्तकालयको भवनका लागि जग्गा नभएको र समाजकल्याण परिषद्ले व्यापारिक पसल सरह भाडा बढाउने गरेको समस्याबारे मन्त्री डा महतलाई अवगत गराए ।

    कार्यक्रममा समाजका अगुवा महेश अग्रवाल र तीर्थराज वन्तलाई सम्मान गरिएको थियो । विसं २०६० असोज ८ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सो पुस्तकालयमा वार्षिक ३० हजारभन्दा बढी पाठक आउने गरेका छन् । यसका दुई हजार चार सय वार्षिक सदस्य रहेका छन् ।

    समाजले २०६२ सालदेखि पुस्तकालय सञ्चालन गरेको हो । पुस्तकालयमा हालसम्म ३७ हजार छ सय १४ पुस्तक उपहारस्वरुप प्राप्त भएका छन् भने चार हजार तीन सय ५१ पुस्तक खरिद गरिएका समाजले जनाएको छ ।

    वाल्मीकि विद्यापीठले जग्गा दिने

    सोही अवसरमा वाल्मीकि विद्यापीठका प्रमुख प्रा डा भागवत ढकालले विद्यापीठको हातामा संयुक्त पुस्तकालय सञ्चालन गर्नेगरी समाजको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन सकिने प्रस्ताव गरे ।

    उनले विद्यापीठका लागि पुस्तकालय बनाउन बजेट अपुग भएका बेला समाजले भवनमा स्रोत खोज्ने गरी संयुक्त पुस्तकालय सञ्चालनमा ल्याउन सकिने बताए ।

  • १३ पुष २०८०, शुक्रबार १४:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images