मन्त्री नारायणकाजी र शक्ति बस्नेतमाथि माओवादी सांसदको हमला
  • CIA Khabar

  • काठमाडौं ,२७ फागुन । सत्ता नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रमा सरकारमा पठाएका मन्त्रीका विषयमा तीव्र असन्तुष्टि जाहेर भएको छ । पुराना मन्त्री दोहोरिएको विषयलाई लिएर पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको हो । शनिबार बसेको पार्टीको संसदीय दल बैठकमा मन्त्री नियुक्तिको विधि प्रक्रियाबारे गम्भीर प्रश्न उठेको नेकपा माओवादी केन्द्रका एक नेताले बताए । उनले भने–‘ सांसदहरूले यसअघि केन्द्रीय कमिटीले या केन्द्रीय कमिटीको सहमतिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरू नियुक्त गर्दै आएको भए पनि यसपालि भने मन्त्रीहरू स्वयंले आफैंलाई नियुक्त गरेकोमा असन्तुष्टि पोख्नुभयो ।

    उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतप्रति सांसदहरु बढी आक्रोशित हुनुभयो ।’ सांसद माधव सापकोटाले पटक पटक दोहोर्याइरहने मन्त्रीहरुका विषयमा खरो असन्तुष्टि व्यक्त गरेका हुन् । ‘तपाईं खाइरहनूहोस्, सधैं मन्त्री खाइरहनूहोस् । तपाईं मन्त्री खानकै लागि जन्मिनुभएको रहेछ,’ बैठकमा सांसद माधव सापकोटाले मन्त्री श्रेष्ठलाई भने ‘तर म चुनौती दिन्छु, देशको जुनसुकै ठाउँबाट भए पनि एक पटक चुनाव जितेर देखाउनुस् ।’ एक जनाले अवसर पाइरहँदा ‘जनयुद्ध’ लडेर आएकाहरूको अपमान भएको सापकोटाको दाबी छ ।

    सापकोटाले मात्रै होइन अरू सांसदहरूले पनि अहिले मन्त्रिपरिषद् पुनर्गठनमा उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठ दोहोरिनु उपयुक्त नरहेको बताए । सांसद मायाप्रसाद शर्माले नेकपा (एमाले) का विष्णु पौडेलले छोड्न हुने तर श्रेष्ठले छोड्न नहुने कारण के हो भनेर सोधेका थिए । उनले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बस्नेतमाथि पनि प्रश्न गर े। ‘जाजरकोटमा, कर्णालीमा अरू नेताहरूको पनि योगदान छ । तर बस्नेतजीको के त्यस्तो विशेषता छ र सधैं उहाँ मन्त्री हुनुपर्ने,’ शर्माले भनेका थिए, ‘एक वर्षसम्म मन्त्री हुँदा शक्तिजीले के काम गर्नुभयो ?’ सांसद अमनलाल मोदीले सुदन किरातीलाई मात्रै किन सरकारबाट निकालेको भनेर प्रश्न गरे । ‘संसारभर बलिमा चढाउने कमजोरहरूलाई मात्रै हो । हाँस, कुखुरा, बाख्रालाई मात्रै बलिमा चढाएको देखिएको छ । बाघ र सिंहलाई कहिल्यै बलि चढाइएको छ र ?’ मोदीले भनेका थिए, ‘तपाईंहरू सिंह हो सधैं सत्तामा बसिरहनूस् ।’ सांसद सूर्यमान दोङले विधिबिना मन्त्रीहरू छान्ने पार्टीको पछिल्लो निर्णयले केही मान्छे मन्त्री बने पनि पार्टी भने नबन्ने बताएका थिए ।

  • २७ फाल्गुन २०८०, आईतवार १३:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images