एक वर्षमा तीन खर्ब ९३ अर्बले बढ्यो शेयर बजार पूँजीकरण
  • CIA Khabar

  • काठमाडौं – नेपालमा धितोपत्र (शेयर) बजार आकार एक वर्षमा तीन खर्ब ९३ अर्ब ४० करोड रुपैयाँले बढेको छ ।

    नेपाल राष्ट्र बैंकद्वारा आज (आइतबार) सार्वजनिक ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ मा उल्लेख भएअनुसार अघिल्लो चैत मसान्तभन्दा गत चैत मसान्तसम्म धितोपत्र बजार पूँजीकरण झण्डै चार खर्ब रुपैयाँले बढेको हो ।

    २०७९ चैत मसान्तमा धितोपत्र बजार  पूँजीकरण २८ खर्ब १८ अर्ब ६१ करोड रुपैयाँ थियो । २०८० चैत मसान्तमा यो आकार ३२ खर्ब १२ अर्ब एक करोड रुपैयाँ पुगेको हो ।

    नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)मा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी, जलविद्युत्‌ कम्पनीको हिस्सा १४.९ , लगानी कम्पनी ७.३, उत्पादन तथा प्रशोधन उद्योगको ७.१, होटेलको २.९, व्यापारिक संस्थाको ०.५ र अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ ।

    नेप्सेमा २०८० चैत मसान्तसम्म सूचीकृत आठ अर्ब २७ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा ८४ अर्ब ९९ करोड रुपैयाँ बराबरको साधारण शेयर, १९ अर्ब ४० करोड रुपैयाँ बराबरको बोनस शेयर, १७ अर्ब ७९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ गरी कूल १ खर्ब २२ अर्ब २१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

    अघिल्लो चैतदेखि गत चैतसम्म अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड बराबरको साधारण शेयर, ६ अर्ब २ करोड बराबरको
    डिबेन्चर, ५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कूल २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ ।

    २०८० चैत मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्‌, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ चैतमा नेप्सेमा सूचीकृत कम्पनीहरू संख्या २४८ रहेको थियो ।

    २०७९ चैत मसान्तमा १९३४.४८ रहेको नेप्से सूचकाङ्क २०८० चैत मसान्तमा २०२५.७१ कायम भएको थियो ।

     

     

  • ३० बैशाख २०८१, आईतवार १४:५१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images