रवि र छवि दुवैले थप सात दिन हिरासतमा बस्नुपर्ने
  • CIA Khabar

  • काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले अझै थप सात दिन हिरासतमा बस्नु पर्ने भएको छ ।

    दुवै जनालाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा पेस गरिएको थियो । त्यसपछि भएको बहसका क्रममा न्यायाधीश पौडेलले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले खबरहबलाई बताए ।

    गत असोज ६ गते पक्राउ गरी पोखरा लगिएका जोशीलाई अदालतले पछिल्लो पटक असोज १७ गतेदेखि लागु हुने गरी २० दिनको म्याद थपेको थियो ।

    यता कात्तिक २ गते पक्राउ गरी पोखरा लगिएका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । लामिछानेविरुद्ध अदालतले दोस्रो पटक म्याद थपेर अनुसन्धान गर्ने अनुमति प्रहरीलाई दिएको हो ।

    दुवै जनालाई अदालतले यसअघि दिएको म्याद आज सकिएको थियो । पछिल्लो पटक मिलेको म्याद सकिए पनि अनुसन्धान नसकिएकाले थप समय माग्न दुवैलाई अदालतमा लगिएको थियो ।

    दुवैजना गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक हुन् । रवि गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए भने पूर्वडीआईजी छवि उपाध्यक्षको भूमिका थिए ।

    पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा जोशी र लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दा अघि बढाइएको छ । 

  • ८ कार्तिक २०८१, बिहीबार १७:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images