कपिलबस्तु क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका सांसद अभिषेक प्रताप शाहले आफुमाथी लगाइएको झुट्टा आरोपको खण्डन गर्नुभएको छ । राजनितिक चरित्र हत्या गर्न खोजेको भन्दै सांसद शाहले उक्त बिषय पुर्ण रुपमा झुट भएकोले सो झुटा आरोपको बिश्वास नगर्न उहाँले सबैलाई बिज्ञप्ती मार्फत आग्रह गर्नुभएको छ । सासंद शाहले कृष्णनगर नगरपालिका वडा नम्बर दुईमा रितेश शर्मामाथि केही युवाहरूद्वारा कुटपिट भएको जुन घटना घटेको छ, त्यसलाई लिएर आफ्नो (सांसद र जनप्रतिनिधिको रूपमा) संलग्नता रहेको भन्दै झूटा, मनगढन्ते र गम्भीर आरोप लगाएको भन्दै दुख्ख व्यक्त गर्नूभयो । उहाँले म यी सबै भ्रामक र निराधार आरोपहरूको कडा शब्दमा र पूर्ण रूपले खण्डन गर्दछु बिञप्ती मार्फत भन्नुभएको छ । सांसद शाहका अनुसार यति मात्र नभई, रितेश शर्माले नेपाल प्रहरीका उच्च पदासीन अधिकारीहरूसँग खिचिएका फोटोहरू देखाएर सर्वसाधारण र व्यापारीहरूलाई तर्साउने तथा अनुचित प्रभावमा पार्ने काम गर्दै आएका छन्। एक/दुई पटक उनीहरूलाई भेटेको भरमा ती उच्च पदस्थ व्यक्तिहरूको नाम भजाएर ‘म यो काम गर्दिन्छु, त्यो काम मिलाइदिन्छु’ भन्दै डर त्रास र प्रलोभन देखाउने तथा तिनै फोटोहरूको धाक लगाएर स्थानीय व्यापारीहरूसँग जबर्जस्ती चन्दा असुल्ने जस्ता गैरकानुनी कार्यहरूमा समेत उनी संलग्न रहँदै आएका छन्।
हेरौं बिज्ञप्तीको पुर्ण पाठ
प्रेस विज्ञप्ति / खण्डन पत्र
मिति: २०८३/०३/२९
विषय: श्री रितेश शर्मामाथि भएको घटनामा लगाइएका झूटा आरोपहरूको पूर्णतः खण्डन तथा स्पष्टीकरण।
सर्वसाधारण र सञ्चारकर्मी मित्रहरूलाई जानकारी गराइन्छ कि हिजो कृष्णानगर नगरपालिका वडा नम्बर दुईमा श्री रितेश शर्मामाथि केही युवाहरूद्वारा कुटपिट भएको जुन घटना घटेको छ, त्यसलाई लिएर मेरो (सांसद/जनप्रतिनिधिको रूपमा) संलग्नता रहेको भन्दै झूटा, मनगढन्ते र गम्भीर आरोपहरू लगाइँदैछ। म यी सबै भ्रामक र निराधार आरोपहरूको कडा शब्दमा र पूर्ण रूपले खण्डन गर्दछु।
यथार्थ के हो भने, जब मैले यस विवाद र झैझगडाको जानकारी पाएँ, तब समाजको एक जिम्मेवार जनप्रतिनिधि भएको नाताले मैले त्यहाँ पुगेर बीच-बचाउ गर्नु आफ्नो कर्तव्य सम्झिएँ। मैले तुरुन्त घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिएँ। मैले नै ती युवाहरूलाई त्यहाँबाट हटाएँ र यस्तो हिंसात्मक कार्य नगर्न सम्झाइबुझाइ गरेर फिर्ता पठाएँ। मेरो तर्फबाट शान्ति स्थापना गर्न गरिएको यस सकारात्मक प्रयासलाई केही मानिसहरूद्वारा नियोजित रूपमा गलत तरिकाले प्रस्तुत गरिँदैछ।
यसका साथै, म यो पनि स्पष्ट पार्न चाहन्छु कि श्री रितेश शर्माको केपी शर्मा ओलीसँग अत्यन्त नजिकको साँठगाँठ रहेको छ। विगतको चुनावमा पनि निजले केपी शर्मा ओलीसँग मिलेर मेरो विरोधमा थुप्रै कार्यहरू गरेका थिए। चुनावमा आफूले चाहेजस्तो नभएको र मेरो राजनीतिक सफलताको त्यही रिस र पूर्वाग्रह अहिले ममाथि यसरी झुटो आरोप लगाएर निकाल्ने कुत्सित प्रयास गरिँदैछ।
यति मात्र नभई, रितेश शर्माले नेपाल प्रहरीका उच्च पदासीन अधिकारीहरूसँग खिचिएका फोटोहरू देखाएर सर्वसाधारण र व्यापारीहरूलाई तर्साउने तथा अनुचित प्रभावमा पार्ने काम गर्दै आएका छन्। एक-दुई पटक उनीहरूलाई भेटेको भरमा ती उच्च पदस्थ व्यक्तिहरूको नाम भजाएर ‘म यो काम गर्दिन्छु, त्यो काम मिलाइदिन्छु’ भन्दै डर त्रास र प्रलोभन देखाउने तथा तिनै फोटोहरूको धाक लगाएर स्थानीय व्यापारीहरूसँग जबर्जस्ती चन्दा असुल्ने जस्ता गैरकानुनी कार्यहरूमा समेत उनी संलग्न रहँदै आएका छन्। यस्तो अवाञ्छित पृष्ठभूमि भएको व्यक्तिले आफ्ना हर्कतहरू लुकाउन र मेरो राजनीतिक छविलाई धमिल्याउन रचेको यो एउटा षड्यन्त्र मात्र हो।
एक जनप्रतिनिधिको रूपमा मेरो प्राथमिकता सधैँ क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्नु रहेको छ। मेरो प्रशासन र प्रहरी विभागसँग यो स्पष्ट माग छ कि यस सम्पूर्ण घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरियोस्। कुटपिटमा संलग्न वास्तविक दोषीहरूमाथि कारबाही हुनुका साथै उच्च पदस्थ अधिकारीहरूको फोटो र नाम दुरुपयोग गरी व्यापारीहरूलाई धम्क्याएर चन्दा असुली गर्ने कार्य र मेरो विरुद्ध भ्रामक हल्ला फैलाउनेहरूको पनि सत्यता उजागर गरी कडा कानुनी दायरामा ल्याइयोस्।
भवदीय,
अभिषेक प्रताप शाह
प्रतिनिधि सभा सदस्य
कपिलवस्तु-३














