काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ । चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म (नेपाल संवत्अनुसार गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म) एक महिना मनाइने यो पर्वमा बौद्धमार्गीहरुले विभिन्न परम्परागत बाजागाजासहित बौद्ध चैत्यको परिक्रमा गर्ने तथा विशेष पूजा–आराधना गर्ने गर्छन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना हुन्छ । नेपाल संवत् प्रारम्भ भएको नौ महिना पूरा भएपछि मनाइने यो पर्वका दुई पक्षलाई ‘गुँलाथ्व’ र ‘गुँलागा’ भन्ने गरिन्छ ।
गुँला पर्व सुरु भएसँगै काठमाडौँको स्वयम्भू महाचैत्यमा भक्तजनको चहलपहल बढेको छ । पर्वका अवसरमा विशेषगरी विभिन्न परम्परागत बाजा बजाउँदै स्वयम्भूको परिक्रमा गर्ने प्रचलन छ । गुँला पर्व बौद्धमार्गीको प्रमुख पर्व भए पनि पछिल्लो समय अन्य समुदायका मानिससमेत सहभागी हुने गरेका छन्।
गुँला पर्वका अवसरमा बौद्धमार्गीले दैनिक स्वयम्भू महाचैत्यको परिक्रमा गर्नुका साथै बौद्धनाथ, पाटनको पुलचोक तथा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका चैत्यको समेत परिक्रमा गर्ने गर्छन्। टोल–टोलबाट समूहमा बाजागाजासहित निस्किएर चैत्य तथा स्थानीय देवदेवीको परिक्रमा गर्ने परम्परा पनि रहेको छ।














