मृगौला फेल भएका हरिबहादुर उपचार खर्चको अभावमा, सहयोगको अपिल
  • CIA Khabar

  • जाजरकोट – नलगाढ नगरपालिका–१०, ध्यारगाउँका ४२ वर्षीय हरिबहादुर ध्यार विगत दुई वर्षदेखि दुवै मृगौला फेल भएपछि उपचारका क्रममा आर्थिक संकटमा परेका छन्। हाल उनी शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नियमित रूपमा दुवै मृगौलाको डाइलोसिस गराइरहेका छन्। दुवै मृगौलाले काम गर्न छाडेपछि विगत दुई वर्षदेखि उपचार गराउँदै आएका हरिबहादुरको उपचारमा हालसम्म ४८ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ। उपचारकै क्रममा घरजग्गासमेत बिक्री गरिसकेका परिवारसँग अब थप उपचारका लागि आवश्यक रकम जुटाउने अवस्था छैन। हरिबहादुरकी श्रीमती प्रेमकुमारी ध्यारले श्रीमानको जीवन बचाउन सहयोग गरिदिन सबैसँग अपिल गरेकी छन्। लामो समयदेखि उपचार गराउँदा भएको सम्पत्ति सकिएपछि अहिले उपचार खर्च जुटाउन निकै कठिन भएको उनले बताइन्।
    हरिबहादुरको जीवन बचाउन उनकी आमा गौराकुमारी ध्यार आफ्नो एउटा मृगौला दिनसमेत तयार भएकी छन्। आवश्यक स्वास्थ्य परीक्षण तथा चिकित्सकीय प्रक्रियापछि मृगौला प्रत्यारोपण गर्न सकिने भए पनि अपरेसनदेखि औषधिसम्म करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको परिवारले जनाएको छ। तर उक्त रकमको अभावमा मृगौला प्रत्यारोपणको प्रक्रिया अघि बढाउन समस्या भएको छ। छोराको जीवन बचाउन आफ्नो मृगौला दिन तयार भएर बसेकी आमा गौराकुमारीले सहयोगका लागि सबैसँग भावुक अपिल गरेकी छन्। उनले आफ्नो मृगौला दिएर भए पनि छोराको ज्यान बचाउन चाहेको बताएकी छन्। दुई वर्षदेखि उपचारका क्रममा रहेका हरिबहादुर अहिले आर्थिक सहयोगको आशामा छन्। परिवारले आफ्नो सम्पूर्ण स्रोत–साधन उपचारमा खर्च भइसकेकाले अब समाजसेवी, संघसंस्था, आफन्त तथा देश–विदेशमा रहेका सहयोगी मनहरूसँग उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको छ।

    हरिबहादुरको उपचारमा सहयोग गर्न चाहनेले सांग्रिला डेभलभमेन्ट बैंक लि मा हरिबहादुर ध्यारको नाममा रहेको खाता नम्बर ०१६०१२००४०२४४९०००००१ मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ। सहयोग तथा थप जानकारीका लागि उनकी श्रीमती प्रेमकुमारी ध्यारको मोबाइल नम्बर ९७६८२४७६४८ मा सम्पर्क गर्नसमेत परिवारले आग्रह गरेको छ। दुई वर्षदेखि मृगौला रोगसँग संघर्ष गरिरहेका हरिबहादुर अहिले आर्थिक अभावका कारण उपचार रोकिएर जीवन नै जोखिममा पर्ने अवस्थामा पुगेका छन्। आफ्नो मृगौला दिएर भए पनि छोराको जीवन बचाउन तयार रहेकी आमाको प्रयास र परिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सहयोगी मनहरूले सक्दो सहयोग गरिदिन परिवारले अपिल गरेको छ।

  • १ भाद्र २०८३, सोमबार १३:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images