छैटौँ दिन पनि उद्धार हुन सकेन त्रिशुली–‘थ्री ए’का कर्मचारी
  • CIA Khabar

  • काठमाडौं – त्रिशूली–थ्री ‘ए’ आयोजनाको सुरुङमा उद्धारको काम गरिरहेको टोली अझै पनि भित्तो फोडेर भित्र प्रवेश गर्न सकेन । आइतबार सुरुङ पत्ता लागेपछि भित्र प्रवेश गर्नेमा आशावादी भएको उद्धार टोली सुरुङको भित्रसम्म लेदो र पानी भरिएको पाइएपछि सोमबार पनि छिर्न नसकेको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिए ।
    सुरुङमा खन्ने क्रममा भित्रबाट सिपेज भएको पानी बाहिर निस्किरहेको तथा सँगँसँगै लेदो पनि भरिएको पाइएपछि सुरुङको भित्ता थप काट्नुपर्ने अवस्था आएको उनले जानकारी दिए ।  हरेक भूमिगत विद्युत् गृहमा सिपेज भएर पानी निस्कने गर्छ । सो पानीले विद्युत् गृहमा क्षति नपुगोस् भनेर मोटर लगाएर बाहिर निकाल्ने गरिन्छ । तर, बाढीका कारण विद्युत् उत्पादन बन्द भएपछि त्यो पानी जमेर बाहिर आइरहेको तिम्सिनाले बताए ।
    उद्धारस्थलमा खटिएका एक अधिकारीका अनुसार सुरुमा उपकरण र जनशक्ति नै पुर्‍याउन नसक्दा सुरुङबाट उद्धारमा ढिलाइ भइरहेको हो । अहिलेभन्दा धेरै एक्साभेटर भइदिइएको भए अझै छिटो काम हुने उनको विश्वास छ । तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले आइतबार ‘केबल एक्सेस टनेल’ फेला पारेको थियो । त्यो सुरुङबाट उद्धार टोलीले बिजुली बाल्ने तथा भित्र फसेका मानिसहरूको संकेत लिने प्रयास गरेपनि हालसम्म कुनै संकेत प्राप्त नभएको स्रोत बताउँछ । तर, सिपेज भएको पानी बाहिर आइरहेको देखिएकाले भित्र भएका मानिसहरू जीवित रहेको भए उनीहरूलाई पिउने पानी उपलब्ध रहेको स्रोत बताउँछ । नेपाल विद्युत प्राधिकरणको ६० मेगावाटको त्रिशुली ‘थ्री–ए’ परियोजना सञ्चालनमा रहेको परियोजना हो । यो परियोजना बन्द गरी विद्युत प्राधिकरणले सम्पूर्ण मर्मत अर्थात् ओभरहलिङको काम गरिरहेको थियो । त्यसो हुँदा आयोजनाको भूमिगत विद्युत् गृहमा ४० देखि ४२ जना उच्च सीपयुक्त इन्जिनियरहरूले काम गरिरहेका थिए । त्यही बेला बाढीले आयोजनाको माथिल्लो र तल्लो सुरुङ पुरेको छ । अहिले उद्धारको प्रयास गरिरहेको टोलीले विद्युत् गृहबाट तार निकाल्ने केबल टनेलबाट भित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ ।

  • १६ भाद्र २०८३, मंगलवार ०८:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images