विपद्को दोस्रो चरणको चुनौती: अब उद्धारसँगै सुरक्षित व्यवस्थापन र स्वास्थ्य सुरक्षामा तत्काल ध्यान दिऔँ
  • CIA Khabar

  • ज्ञानु बिसी

    बाढी प्रभावित क्षेत्रमा अझै पनि उद्धार कार्य जारी राख्नुपर्ने अवस्था छ। उद्धार हुन नसकेका नागरिक तथा जनावरहरूको खोजी, शव व्यवस्थापन, प्रभावितहरूको सुरक्षित स्थानान्तरण र आधारभूत आवश्यकता पूर्ति अहिलेको पहिलो प्राथमिकता हुनुपर्छ। स्थलगत अवस्थाको अवलोकन गर्दा बाढी प्रभावित क्षेत्रमा शव तथा कुहिएका वस्तुबाट दुर्गन्ध फैलिन थालेको छ । यस्तो अवस्थामा सरसफाइ, सुरक्षित खानेपानी, फोहोर तथा शवको उचित व्यवस्थापन र स्वास्थ्य निगरानीमा तत्काल ध्यान नदिए पानीजन्य तथा संक्रामक रोग फैलिने जोखिम बढ्न सक्छ। त्यसैले सम्भावित महामारी रोकथामका लागि स्वास्थ्य तथा सरसफाइसम्बन्धी टोली तत्काल परिचालन गर्न आवश्यक देखियो।
    होल्डिङ सेन्टरको व्यवस्थापनमा विशेष ध्यान दिन जरुरी,
    बाढी प्रभावित नागरिकहरूलाई जोखिम क्षेत्र नजिकैका विभिन्न विद्यालय तथा अन्य स्थानमा होल्डिङ सेन्टर बनाएर राखिएको देखियो । जोखिम क्षेत्र नजिकै पुनः बसोबास गराउँदा अर्को जोखिम निम्तिन सक्ने भएकाले सुरक्षित स्थानको पुनर्मूल्याङ्कन आवश्यक छ ।
    विशेषगरी सुत्केरी तथा गर्भवती महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य नागरिकलाई एउटै अव्यवस्थित स्थानमा राख्दा सुरक्षा, गोपनीयता र संरक्षणसम्बन्धी जोखिम बढ्न सक्छ।
    त्यसैले होल्डिङ सेन्टरहरूमा:
    १. महिला तथा पुरुषका लागि सुरक्षित र उपयुक्त छुट्टाछुट्टै व्यवस्था
    २. महिला तथा किशोरीका लागि सुरक्षित स्थान र शौचालय
    ३. बालबालिका तथा ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था
    ४. अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त सेवा
    ५. गर्भवती तथा सुत्केरी महिलाका लागि प्राथमिक स्वास्थ्य सेवा
    ६. पर्याप्त खानेपानी, खाना, सरसफाइ र महिनावारी व्यवस्थापन सामग्री
    ७. महिला, बालबालिका तथा अन्य जोखिममा रहेका व्यक्तिको संरक्षण र सुरक्षा
    ८. आवश्यक मनोसामाजिक सहयोग तथा रेफरल सेवा
    तत्काल सुनिश्चित गर्न आवश्यक छ।
    अब सबै तहको समन्वित परिचालन आवश्यक छ
    बाढी प्रभावित क्षेत्रमा समुदाय, नागरिक समाज, संघ–संस्था, स्थानीय सरकार तथा बाहिरबाट राहत लिएर आउने सबैले स्थानीय आवश्यकता र अवस्थाको विश्लेषण गरेर मात्र राहत तथा सहयोग परिचालन गर्नु आवश्यक छ।
    राहत वितरण संगसंगै,
    आवश्यकता पहिचान, राहत व्यवस्थापन, उद्धार तथा पुनःस्थापना, स्वास्थ्य, सरसफाइ, सुरक्षा, संरक्षण र मनोसामाजिक सहयोगलाई एउटै समन्वित प्रणालीमा जोड्न आवश्यक छ।
    नेपाली सेनाको ब्यारेक तथा अन्य स्थानमा आफ्ना आफन्तको खोजीमा आएका स्वदेशी तथा विदेशी नागरिकहरूको भीडभाड पनि देखियो। यस्तो अवस्थामा हराएका तथा विस्थापित व्यक्तिको खोजी, पहिचान, परिवारसँग पुनर्मिलन र सूचना व्यवस्थापनका लागि छुट्टै प्रभावकारी संयन्त्र आवश्यक देखिन्छ।
    मेरो अनुरोध :
    नेपाल सरकारको नेतृत्वमा तत्काल आवश्यकताअनुसार उद्धार, सुरक्षित स्थानान्तरण तथा व्यवस्थापन, स्वास्थ्य तथा सरसफाइ, राहत व्यवस्थापन, संरक्षण र मनोसामाजिक सहयोग लगायतका छुट्टाछुट्टै कार्यसमूह/समिति बनाई नागरिक समाज तथा संघसंस्थालाई समेत स्पष्ट जिम्मेवारीसहित परिचालन गर्न जरुरत रहेको छ ।
    अहिले चुनौती राहतको अभाव मात्र होइन, राहत थुप्रिएको ठाउँबाट वास्तविक प्रभावितसम्म समयमै पुर्‍याउनु पनि हो।
    त्यसैले उपलब्ध राहत सामग्रीलाई तत्काल आवश्यकता पहिचान गरी सम्बन्धित प्रभावित समुदायसम्म पुर्‍याउने प्रभावकारी संयन्त्र निर्माण गर्न जरुरत रहेको ।
    उद्धारमा ढिलाइ नगरौँ।
    प्रभावितलाई जोखिमबाट अर्को जोखिममा नधकेलौँ।
    होल्डिङ सेन्टरलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाऔँ।
    सम्भावित रोगको जोखिम रोकथाम गरौँ।
    महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सुरक्षा सुनिश्चित गरौँ।
    राहतलाई गोदाममा होइन, आवश्यकतामा रहेका हातसम्म तत्काल पुर्‍याऔँ।
    यो दोषारोपण गर्ने समय होइन ।
    यो समन्वय, संवेदनशीलता र तत्काल काम गर्ने समय हो।
    एकद्वार समन्वय, प्रभावकारी उद्धार, सुरक्षित व्यवस्थापन र सम्मानजनक राहत,यही अहिलेको आवश्यकता हो।
    सानो सहयोग होइन, सही समयमा सही ठाउँमा पुग्ने सहयोग महत्वपूर्ण हुन्छ।
    स्थलगत अवलोकनले एउटा कुरा अझ स्पष्ट बनाएको छ,
    विपद्को असर बाढी रोकिएसँगै समाप्त हुँदैन; त्यसपछि सुरु हुने व्यवस्थापनको चरण झन् संवेदनशील हुन सक्छ।
    त्यसैले अब हरेक सहयोग आवश्यकता पहिचानमा आधारित, समन्वित, सुरक्षित र प्रभावित नागरिकको मर्यादा कायम राख्ने गरी पुग्न जरुरी छ।
    देखेको पीडा बिर्सन सकिँदैन।
    अब देखिएको आवश्यकतालाई सम्बोधन गर्न ढिला नगरौँ।
    मानवताको पक्षमा हातेमालो गरौँ।
    नेपाललाई यो विपत्तिबाट सँगै उठाऔँ।

  • १९ भाद्र २०८३, शुक्रबार १४:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images