काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला महिला) पदमा कान्तिका सेजुवालले उम्मेदवारी दर्ता गराएकी छन्। जुम्लाकी सेजुवालले चार दशकदेखि राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएको बताइएको छ। उनले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेकी हुन्।
सेजुवाल जुम्लाको पहिलो निर्वाचित महिला मेयर तथा प्रतिनिधिसभा सदस्यसमेत भइसकेकी छन्। २०८३ सालको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा अनुमोदित भएकी उनी १५औँ महाधिवेशनमा खुला महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन्। महिला नेतृत्वको सशक्तीकरण, कर्णालीको प्रभावकारी प्रतिनिधित्व र समावेशी कांग्रेस निर्माणलाई प्राथमिकतामा राख्दै उम्मेदवारी दिएको सेजुवालले बताएकी छन्। उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई मत दिएर विजयी गराउन अपिलसमेत गरेकी छन्। कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान असोज २२ गते हुने निर्वाचन कार्यतालिका छ।














