मंगोलियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु
  • CIA Khabar

  • काठमाडौँ । कोरोनाभाइरस महामारी फैलिएकै समयमा मंगोलियामा बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको छ ।

    कम्युनिष्ट शासन त्यागेर सन् १९९२ मा प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको मंगोलियामा त्यसयता छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बनेका बाटुल्गा खल्टमा भने यस पटक उम्मेदवार भएका छैनन् ।

    मंगोलियाका संविधान अनुसार कुनै पनि राष्ट्रपति दुई कार्यकाल राष्ट्रपति हुन पाउँदैनन् । मंगोलियामा राष्ट्रपतिको कार्यकाल छ वर्षको हुन्छ ।

    राष्ट्रपतिका उम्मेदवारहरुमा मंगोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख पनि चुनावी मैदानमा छन् । यस दलको संसदमा बलियो बहुमत रहेको छ । विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरेका कारण खुरेलसुखले जितेमा मुलुकको सार्वजनिक मामिलामा सैनिकहरु हाबी हुन सक्ने अनुमान गरिएको छ ।

    खुरेलसुखका मुख्य प्रतिस्पर्धीका रुपमा डेमोक्रेटिक पार्टीका सोड्नोजुनदुइन एर्डिन रहेका छन् । चुनावी पर्यवेक्षकहरुका अनुसार उनको स्थिति निकै कमजोर छ । उनले मंगोलियन पिपुल्स पार्टीले चुनाव जितेमा मंगोलियामा अधिनायकवाद आउने बताएका छन् ।

    मंगोलियाको राष्ट्रपतिको पद खासगरी आलंकारिक प्रकृतिको रहेको छ । तर सेनाको नियन्त्रण र सञ्चालनका साथै कतिपय अवस्थामा विधेयकमाथि विशेषाधिकार (भिटो) लगाउने अधिकार राष्ट्रपतिमाथि रहेको छ ।

    मंगोलियामा संसद, मन्त्रिपरिषद र प्रधानमन्त्रीको कार्यालयमा देशको कार्यकारी अधिकार रहेको छ ।

  • २६ जेष्ठ २०७८, बुधबार १८:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images