काठमाडौँ । बंगालको खाडीमा बनेको ‘यास’ चक्रवातको प्रभाव नेपालमा पनि देखिएको छ ।
चक्रावतको प्रभावले नेपालमा मंगलबारदेखि नै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।मौसम आएको बदलीले काठमाडौं उपत्यकामा मात्रै गत २४ घण्टामा ५.६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको महाशाखाले जनाएको छ ।
आजदेखि शनिबारसम्म वर्षा/हिमपात अझ बढ्दै जाने महाशाखाले जनाएको छ । यस अवधिभर सतर्कता अपनाउन, पर्वतारोहणमा नजान मौसमविद्ले आह्वान गरेका छन् ।
पूर्वी नेपालबाट शुरू भएको चक्रावतको असर क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ । मौसमविद् प्रतीभा मानन्धरका अनुसार आजबाट हावाहुरीसहित ठूलो वर्षाको सम्भावना छ । आइतबादेखि मात्रै चक्रावतको असर कम हुने उनले जानकारी दिइन् । भारतमा आज यास चक्रवात बज्रिने अनुमानपछि बंगाल र ओडिसाका लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।