काठमाडौँ उपत्यकासहित १६ जिल्लामा निषेधाज्ञा, के खुल्छन्, के खुल्दैनन् (सूचीसहित)
  • CIA Khabar

  • काठमाडौँ- नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर बढेपछि सरकारले आजदेखि काठमाडौँ उपत्यकामा १५ दिनसम्म निषेधाज्ञा लागु गरेको छ ।

    उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)ले उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाए पनि सरकारले त्यसलाई एक हप्ता थपेर १५ दिन निषेध आदेश जारी गरेको छ ।

    निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकाका सुनसान देखिएको छ । सडकमा अत्यावश्यक सवारीसाधन मात्रै फाट्टफुट्ट गुडेका छन् ।

    उपत्यका बाहेक ५ सयभन्दा बढी संक्रमित भएका अधिकांश जिल्लाले निषेधाज्ञा लगाएका छन्। विभिन्न १३ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा जारी भएको छ भने तीन जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ। ​

    पूर्ण निषेधाज्ञा जारी भएका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, पर्सा, बाँके, दाङ, रुपन्देही, चितवन, पाल्पा कञ्चनपुर, कैलाली र सुर्खेत छन्।  आंशिक निषेधाज्ञा लगाएका जिल्लामा बागलुङ कालिकोट, बर्दिया रहेको मन्त्रलायले जनाएको छ।

    यसअघि सरकारले २०७६ चैत ११ गतेदेखि २०७७ साल साउन ७ गतेसम्म लकडाउन गरेको थियो ।

    के के बन्द हुने

    आदेश अनुसार आजदेखि खाद्य सामग्री औषधी तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् ।

    काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको छ ।

    अत्यावश्यक सेवा दिनेबाहेकका सार्वजनिक र निजी सवारी साधन बन्द हुनेछ ।

    के के खोल्न पाइने ?

    आदेश अनुसार खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

    सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।

    विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने छ ।

    अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

    त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन पनि चल्न पाउनेछन् ।

    सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाउनेछन् । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले दिनेछन् ।

    अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ ।

  • १६ बैशाख २०७८, बिहीबार ०९:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images