उपेन्द्र यादवलाई लक्ष्मणलाल कर्णको चेतावनी : बाटो खुला छ, नयाँ पार्टी खोलेर प्रचण्डसँग गए हुन्छ
  • CIA Khabar

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का बरिष्ठ नेता लक्ष्मणलाल कर्णले माओवादी बन्ने रहर भए तत्काल प्रचण्डतिर लाग्न अध्यक्ष उपेन्द्र यादवलाई चेतावनी दिनुभएको छ । यादवका पछिल्ला गतिविधि जसपा फुटाउन र माओवादी बन्न उद्दत रहेका निश्कर्षसहित नेता कर्णले यस्तो चेतावनी दिनुभएको हो ।

    यादवको समूहले लुम्बिनी प्रदेश सभामा गरेको चलखेल र किर्ते कामबाटै माओवादीतिर बिलय हुने लक्षण प्रष्ट भएको नेता कर्णको भनाइ छ । ‘राजनीतिक दल सम्बन्धी ऐन अनुसार पाँच वर्षसम्म जसपा विभाजन हुन सक्दैन, उपेन्द्रजीहरुलाई जानै मन लागेको हो भने बाटो खुला छ, नयाँ पार्टी खोलेर प्रचण्डसँग गए हुन्छ,’ नेता कर्णले भन्नुभयो । केन्द्रको निर्णयविपरित लुम्बिनी प्रदेश सभामा जसपाबाट प्रतिनिधित्व गर्ने चार सांसद्लाई उपेन्द्र समूहले पदमुक्तका लागि सिफारिस गरेको थियो । सोही कीर्ते सिफारिसका आधारमा माओवादी कार्यकर्ता बनेर लुम्बिनीका सभामुखले चार सांसद् पदमुक्त भएको सूचना वैशाख १६ गते सार्वजनिक गर्नुभएको थियो ।

    सो सिफारिस गैरकानुनी भएको भन्दै सोही दिन नै जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनीका सभामुखलाई पत्र पठाउनुभएको थियो । ठाकुरले निर्णय कार्यान्वयन नगर्न भन्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन समेत दिनुभएको छ । डा. बाबुराम भट्टराईसहित यादव पनि माओवादीमा मिसने कुरा लुम्बिनीको यस प्रकरणले प्रष्ट पारेको कर्णको निश्कर्ष छ ।

    प्रचण्ड र डा. बाबुराम भट्टराईका कारण जसपा लुम्बिनीमा किचलो देखिएको उहाँले बताउनुभयो । उपेन्द्र यादव आफैंले यस्तो कुरा सोच्न नसक्ने बताउँदै कर्णले भन्नुभयो, ‘लुम्बिनीमा प्रचण्डको स्पष्ट सहभागिता छ, प्रचण्डको सहयोगबिना सभामुखले त्यस्तो काम गर्न सक्छ ? उपेन्द्रजी त प्रचण्डको प्यादा बन्नुभयो ।’ उपेन्द्र यादव प्रचण्डबाट निर्देशित मान्छे भएको ठोकुवा पनि कर्णले गर्नुभयो । पार्टी र पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरको आँखा छलेर प्रचण्डकै निर्देशनमा उपेन्द्रले जसपा लुम्बिनी भाड्नुभएको उहाँको भनाई छ । ‘उपेन्द्रजीले लुम्बिनीमा त्यस्तो गर्नु नै थियो भने पनि बैठक बोलाएर बहुमतको निर्णय गरेर गर्न सक्नुहुन्थ्यो, तर त्यसो गर्नुभएन, उहाँ प्रचण्डबाट निर्देशित मान्छे हो,’ कर्णले भन्नुभयो ।

    प्रचण्ड र बाबुरामको पछाडि लागेपछि उपेन्द्रले मधेसका मुद्दा र माग बिर्सिएको पनि उहाँको आरोप छ । ‘उपेन्द्रजी हामीसँगै मधेसको आन्दोलनबाट आएको मान्छे हो, बाबुराम हिजो हामीसँग मिलेको मान्छे हो, तर बाबुरामको पछि लागेर उपेन्द्रजीले मधेसका मुद्दा र मागहरु भुल्नुभएको छ,’ कर्णको भनाई छ ।

  • १९ बैशाख २०७८, आईतवार ११:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images