एनसेलका स्थानीय साझेदारः करोडमा शेयर हात पारेर अर्बमा कर छली
  • रुद्र पंगेनी, दीपक अधिकारी

  • मलेशियाको आजीयाटा र स्वीडेनको टेलियाले ‘ट्याक्स हेभन’ मुलुक (कर छली र अवैध सम्पत्ति लुकाउन अनुकूल मानिने देश) मार्फत रकम पठाई एनसेलको शेयर किनबेचमा सीमित नेपाली लगानीकर्तालाई ३०औं अर्बको मालिक बनाएका छन् । जसले शेयर कारोबार गर्दा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ र करसम्बन्धी कानूनहरूको उल्लंघन गरेको देखिएको छ ।

    यस सम्बन्धमा खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल र बेलायतको खोज पत्रकारिता गर्ने संस्था ‘फाइनान्स अन्कभर्ड’ ले यसको भित्री पाटो उधिनेका छन् । एनसेलबाट पछिल्लो समय बढी लाभ लिनेमा व्यवसायी उपेन्द्र महतो, उनका व्यावसायिक साझेदार निरजगोविन्द श्रेष्ठ, भावना सिंह श्रेष्ठ र उनको कम्पनी सुनिभेरा क्यापिटल भेन्चर हुन् । कहिले कम्पनी त कहिले व्यक्तिको नाममा सस्तोमा २० प्रतिशत शेयर हात पार्ने तर अफसोर कारोबार गरी कर नतिर्ने गरेको यो अध्ययनले देखाउँछ ।

    उनीहरूले नेपालको कानूनमा स्थानीय लगानीकर्ताका लागि आरक्षण गरिएको एनसेल (हालसालै एनसेल आजीयाटा नामकरण गरिएको) को २० प्रतिशत शेयरको स्वामित्वबाट २०६८ यता ठूलो रकम नाफा कमाएको देखिन्छ ।

     

     

    २०७२ सालमा टेलियाले एनसेलको नाममा रहेको ८० प्रतिशत शेयर बिक्री गरी पूँजीगत लाभकर नतिरेपछि नेपालमा एनसेल कर छली मामिलामा व्यापक विवाद र बहस भयो ।

    यो विवाद अदालत पुगेपछि सर्वोच्च अदालतको आदेश अनुसार करीब रु.४६ अर्ब पूँजीगत लाभकर तिरिएको छ । तर उक्त शेयरसँगै बिक्री भएको बाँकी (२० प्रतिशत शेयर) र त्यसअघिको एनसेलको स्थानीय शेयर कारोबारबारे आजसम्म खासै चर्चा भएको छैन ।

    २०७२ अघिका कारोबारहरू कतिसम्म अपारदर्शी छन् भने शेयर किनबेच गर्दा भएको लेनदेनको करोडौं डलर कहाँ पुग्यो भन्ने पत्ता लगाउन लगभग असम्भव छ ।

    नेपाल राष्ट्र बैंक र आजीयाटाबाट हामीले लिएको तथ्यांकको विश्लेषण गर्दा एनसेलको २० प्रतिशत शेयरको मूल्य हाल रु.३५ अर्ब हाराहारी रहेको अनुमान छ । एनसेलको स्थानीय साझेदार सुनिभेराले आर्थिक वर्ष २०७२/७३ यता मात्रै करीब रु.९ अर्ब लाभांश बुझेको छ ।

    हाम्रो अनुसन्धानले यी तथ्यहरू उजागर गरेको छ :

    • आजीयाटाको वेबसाइटमा उपलब्ध उसको वार्षिक प्रतिवेदन र हामीले ऊसँग गरेको इमेल कुराकानी अनुसार, आजीयाटाले रु.९ अर्ब ५६ करोड (९ करोड अमेरिकी डलर) गोप्य रूपमा भावना सिंह श्रेष्ठसँग सम्बन्धित एक गोप्य अफसोर कम्पनीलाई उपलब्ध गराएको थियो । यो कारोबार श्रेष्ठको कम्पनी सुनिभेराले एनसेलको २० प्रतिशत शेयर खरीद गरेर स्थानीय साझेदार हुनुभन्दा केही महीना अघि मात्र भएको थियो ।
    •  टेलियाको वार्षिक प्रतिवेदन अनुसार, उसले २०६८ सालमा निरजगोविन्द श्रेष्ठलाई महतोसँग शेयर किन्न एक ट्याक्स हेभन मुलुकमार्फत रु.१८ अर्ब ६१ करोड (२३ करोड अमेरिकी डलर) ऋण दिएको थियो । तर श्रेष्ठले २०७४ सालमा पूँजीगत लाभकर निर्धारण विवाद मामिलामा सर्वोच्च अदालतमा दिएको लिखित जवाफमा उक्त शेयर महतोबाट रु.२५ करोडमा किनेको दाबी गरेका छन् । त्यसो भए टेलियाले दिएको बाँकी पैसा कहाँ गयो भन्ने जवाफ भेटिंदैन ।

    यसबाट नेपाली लगानीकर्ताहरूलाई एनसेलको शेयर खरीद गर्न ठूला विदेशी टेलिकम कम्पनीहरूले अपारदर्शी तरीकाले रकम उपलब्ध गराएको तथ्य खुलासा हुन्छ । यसले नेपालको विदेशी लगानी सम्बन्धी कानूनको उल्लंघन गरेको देखिन्छ ।

    तर, आजीयाटाले साउदर्न कोस्ट भेन्चर्स नाम गरेको एक अफसोर कम्पनीमार्फत एनसेलको शेयर खरीद गर्न गोप्य लगानी गरेको कुरा अस्वीकार गरेको छ । आजीयाटाले उक्त कम्पनीले आफूबाट बुझेको रकम केका लागि उपयोग गर्‍यो भन्ने आफूलाई थाहा नभएको बतायो ।

    हामीसँगको इमेल कुराकानीमा आजीयाटाले आफूले नेपालको कुनै कानून उल्लंघन नगरेको दाबी गरेको छ । सुनिभेरा क्यापिटल भेन्चर एनसेलको स्थानीय साझेदार भएको तथ्यबाहेक ‘ऊसँग पहिले वा अहिले पनि कुनै आर्थिक वा व्यापारिक सम्बन्ध नभएको’ तथा उक्त कम्पनी केवल एनसेलमा स्थानीय साझेदार मात्रै रहेको आजीयाटाको दाबी छ ।

    २०७२ अघि एनसेलमा ८० प्रतिशत हिस्सा रहेको स्वीडेनको टेलिकम कम्पनी ‘टेलिया’ ले पनि नेपाललगायतका देशको टेलिकम ‘बिजनेस’ मा कानूनी र सुशासनसँग सम्बन्धित प्रश्न उठेको स्वीकार गरेको छ । टेलियाले हामीलाई इमेलमा दिएको जवाफमा नेपाललगायतका देशमा सन् २०१३ (२०७० साल)अघि भएका कारोबारहरूमाथि प्रश्न उठेको स्वीकार गरेको छ । ती कारोबारसँग सम्बन्धित सामग्री स्वीडेनका अभियोजनकर्ताहरूलाई बुझाएको तर उनीहरूले ‘कारबाही गर्ने निर्णय नगरेको’ टेलियाको भनाइ छ ।

    हामीले स्थानीय साझेदारहरूमध्येका एक उपेन्द्र महतोलाई पनि २०७७ असारमा टेलियाको ऋण र महतोको लगानीलगायतका विषयहरू समेटेर प्रश्न पठाएका थियौं । उनले ती सूचना ‘निजी र गोप्य’ प्रकृतिका भएको भन्ने जवाफ दिए । २०७७ कात्तिकमा फेरि हामीले महतोलाई थप प्रश्न पठाएर यसबारेमा थप जान्न खोज्यौं तर उनले जवाफ दिएनन् ।

    पटक पटकको इमेल आग्रहपछि व्यवसायी उपेन्द्र महतोले २०७७ मंसीरमा यस सम्बन्धमा संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले भने, “नेपाली व्यवसायीले नेपाल बाहिर गरेको उन्नति, प्रगति कतिलाई पाच्य हुन्न । त्यसैले उनीहरू यस्ता व्यवसायीको कहाँ, के भेटिन्छ भनेर पछिलागेका हुन्छन् । नेपालका राष्ट्रिय संस्थाहरूले यो बुझ्नुपर्छ ।”

    “जहाँसम्म एनसेलको २० प्रतिशत शेयर खरीदमा गडबडी भएको प्रश्न छ, टेलियाले गैरकानूनी रूपमा यो शेयर किनेको छ भने उसलाई कर तिराएर ‘लिगलाइज’ गर्नु भएन । यो जफत गर्नुपर्छ” महतोले भने, “गैरकानूनी काम कर तिरेर कानूनी बनाउनुहुन्न । मेरो भनाइ यत्ति हो ।”

    एनसेलका अर्का स्थानीय साझेदारहरू निरजगोविन्द श्रेष्ठ र भावना सिंह श्रेष्ठलाई पनि हामीले यिनै प्रश्नहरू पठाएर एनसेलमा उनीहरूको लगानी, कारोबार र मुनाफा बारे जान्न खोज्यौं । तर उनीहरूले हाम्रा कुनै पनि प्रश्नको जवाफ दिएनन् ।

    स्थानीय स्वामित्व

    २०६० सालको दूरसंचार नीतिले ‘नेपालका टेलिकम कम्पनीमा कम्तीमा २० प्रतिशत स्वामित्व नेपाली व्यक्ति वा कम्पनीको हुुनुपर्ने’ व्यवस्था गरेको छ । सो बमोजिम एनसेलमा पनि नेपालीहरूको २० प्रतिशत हिस्सा रहँदै आएको छ । २०६८ सालसम्म उक्त २० प्रतिशत शेयरको स्वामित्व उपेन्द्र महतो अध्यक्ष रहेको सिनर्जी नेपाल प्रालिको नाममा थियो । बाँकी ८० प्रतिशत शेयर स्वीडेनको टेलिया (त्यसबेला टेलियासोनेरा) को स्वामित्वमा थियो ।

    २०६८ साल चैतमा सिनर्जी नेपालले उक्त २० प्रतिशत शेयर महतोलाई बिक्री गर्‍यो । महतोले लगत्तै उक्त शेयर निरजगोविन्द श्रेष्ठलाई बेचे । ठूला करदाता कार्यालयले गरेको कर निर्धारण विरुद्धको मुद्दामा सर्वोच्च अदालत र राजश्व न्यायाधिकरणमा लिखित जवाफ दिंदा महतो र श्रेष्ठ दुवैले उक्त शेयरको मूल्य रु.२५ करोड भएको उल्लेख गरेका छन् ।

    ठूला करदाता कार्यालयले उक्त शेयरको वास्तविक मूल्य रु.३ अर्ब ३६ करोड भएको जनाउँदै महतोले थप पूँजीगत लाभकर तिर्न बाँकी रहेको भनेर कर निर्धारण गर्‍यो । करदाता कार्यालयको कर निर्धारणलाई महतोले चुनौती दिएका छन् । यससम्बन्धी मुद्दा राजश्व न्यायाधिकरणमा विचाराधीन छ ।

    यस सम्बन्धमा कर कार्यालयले कर निर्धारण गर्दा लिएको कारोबार मूल्य भन्दा ठूलो कारोबार भएको हुनसक्ने तथ्यहरू पनि भेटिएका छन् । टेलियाको नेदरल्याण्डस्थित सहायक कम्पनी टेलियासोनेरा यूटिए होल्डिङ बिभीको सन् २०१२ को लेखा विवरणका अनुसार टेलियाले २०६८ सालमा उक्त सहायक कम्पनीमार्फत एनसेलको शेयर किन्न निरजगोविन्द श्रेष्ठलाई २३ करोड अमेरिकी डलर अर्थात् तत्कालीन सटही दरअनुसार रु.१८ अर्ब ६१ करोड ऋण दिएको थियो ।

    सोही सहायक कम्पनीको सन् २०१४ को लेखा विवरण अनुसार, पछि टेलियाले उक्त ऋण मिनाहा गरिदियो । श्रेष्ठले ऋण तिर्नैपरेन । श्रेष्ठले उक्त रकमबाट कति रकम महतोलाई तिरे भन्ने पुष्टि गर्न सम्भव भएन । किनभने उपलब्ध दस्तावेजमा यो जानकारी समावेश छैन । महतो र श्रेष्ठ दुवैले हामीले पठाएका प्रश्नहरूको जवाफ पनि दिएनन् ।

    शुरूमा यो ऋण लिने–दिने प्रक्रिया पारदर्शी थिएन । त्यसैले टेलियाको खातामा त्यतिखेर उक्त ऋण देखाइएन । त्यो ऋण नेदरल्याण्ड्सको टेलियासोनेरा एशिया होल्डिङ बिभीको दस्तावेजमा मात्र उल्लेख थियो । एक वर्षपछि टेलियाले उक्त ऋण दिनुको उद्देश्य खुलायो । टेलियाका प्रवक्ता सलोमन बेकेलेले स्वीडेनको पत्रिका ड्यागेन्स नेहेटर लाई दिएको अन्तर्वार्तामा भनेका छन्, “हामीले निरजगोविन्द श्रेष्ठको २० प्रतिशत शेयर खरीद गर्न लगानी गरेका हौं । हामीसँग उक्त शेयर बन्धकीका रूपमा छ । (नेपालमा) विदेशी स्वामित्वको सीमा घट्यो वा त्यो प्रावधान पूरै हटाइयो भने त्यो शेयर हाम्रो नाममा दर्ता गर्ने विकल्प पनि हामीसँग छ ।”

    यसबाट के स्पष्ट हुन्छ भने– टेलियाले नेपालको टेलिकम कम्पनीको स्वामित्वसम्बन्धी कानून बदलिएला र यीमध्ये केही वा पूरै शेयर आफ्नो स्वामित्वमा आउला भन्ने सोचेर एनसेलको २० प्रतिशत शेयर किन्न श्रेष्ठलाई ऋण दिएको देखिन्छ ।

    हामीले टेलिया र श्रेष्ठलाई यो वास्तविक ऋण नभई नेपालको दूरसंचार कम्पनीको स्वामित्व सम्बन्धी कानून छल्ने प्रयोजनका लागि टेलियाको तर्फबाट उक्त शेयर श्रेष्ठलाई राख्न दिइएको त हैन भनेर सोध्यौं । दुवैले हाम्रो प्रश्नको जवाफ दिएनन् ।

    टेलियाको वार्षिक प्रतिवेदन २०१५ मा श्रेष्ठको शेयरमा आफ्नो ‘इकोनोमिक इन्ट्रेस्ट’ रहेको उल्लेख छ तर उसले त्यसको अर्थ खुलाएको छैन । प्रत्यक्ष वैदेशिक लगानीका एकजना विज्ञ तथा अधिवक्ता सेमन्त दाहालले नेपालको विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ बमोजिम नेपाली व्यक्ति वा कम्पनीले नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिई नेपाली कम्पनीमा शेयर किन्न विदेशबाट पैसा ल्याउन नपाउने बताए । दाहालले टेलियाको खास विषयमा नभई आमरूपमा कानूनी व्यवस्थाबारे उक्त टिप्पणी गरेका हुन् ।

    विदेशी विनिमय सम्बन्धी ऐनले नेपाली कम्पनीका शेयरधनीले केन्द्रीय बंैकको अनुमति नलिई आफ्नो शेयर धितो राखेर विदेशबाट ऋण लिन बन्देज लगाएको छ । हामीले सूचनाको हक प्रयोग गरेर निरजगोविन्द श्रेष्ठको सम्बन्धमा सूचना माग्दा नेपाल राष्ट्र बैैंकले विदेशी विनिमयसम्बन्धी कानून अन्तर्गत श्रेष्ठलाई ऋण लिन अनुमति नदिइएको जनाएको छ ।

    अब यदि टेलियाले निरजगोविन्द श्रेष्ठलाई दिएको उक्त रकम (१८ अर्ब २३ करोड) नेपाल भित्रिएको छैन भने त्यो रकम विदेशमै (अर्थात् अफसोर) रहेको हुनुपर्छ । यसबाट नेपालमा लाग्ने कर छलेर आयकर ऐनको उल्लंघन भएको हुनसक्ने देखिन्छ । श्रेष्ठलाई ऋण दिएको सम्बन्धमा हुनसक्ने जोखिमबारे टेलियाले केही बताउन चाहेन भने श्रेष्ठले पनि यसको जवाफ दिएनन् ।

    यस बीचमा एशियाका बजारमा फैलने टेलियाको गतिमा ब्रेक लाग्यो । २०६८ सालपछि ‘टेलिया उज्वेकिस्तान’ मा भएको ठूलो भ्रष्टाचार काण्डमा मुछिएपछि एशियामा लगानी बढाउने उसको योजना भताभुङ्ग भयो । त्यसपछि उसले निरजगोविन्दको नाउँमा भएको एनसेलको शेयर स्वामित्व लिने कुरा त्यत्तिकै सेलायो ।

    टेलियाले एनसेलको शेयर बिक्री गरेकै वर्ष अर्थात् २०७२ सालमा सो ऋण मिनाहा गरिदियो । ऋण मिनाहा गर्दा टेलियाकै नेदरल्याण्डस्थित सहायक कम्पनी (टेलियासोनेरा यूटिए होल्डिङ बिभी) को दस्तावेज अनुसार श्रेष्ठले ‘ऋण सम्झौतामा उल्लिखित दायित्व बमोजिम केही ‘कानूनी कार्य’ गर्नुपर्ने शर्र्त थियो । टेलिया र श्रेष्ठ दुवैले ती ‘कानूनी कार्र्य’ के थिए भन्ने खुलाएनन् ।

    टेलियाले उक्त ऋण मिनाहा गरेकोले श्रेष्ठले एनसेलको शेयर लगभग निःशुल्क जस्तै हात पारेको देखिन्छ । पछि उनले उक्त शेयर बिक्री गरी ठूलो रकम मुनाफा गरे । यस विषयमा टेलिया र श्रेष्ठ दुवैले प्रतिक्रिया दिएनन् ।

    टेलिया मुछिएको भ्रष्टाचार काण्ड

    २०६८ सालमा युरोपका खोज पत्रकारहरूको संस्था अर्गनाइज्ड क्राइम एण्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट (ओसीसीआरपी)ले टेलियाले उज्वेकिस्तानमा भ्रष्टाचार गरेको प्रमाणसहित खुलासा गरेपछि उक्त टेलिकम कम्पनीको एशियाली मुलुकमा बजार विस्तार गर्ने योजना भताभुङ्ग भयो ।

    यही काण्डका कारण टेलियाका तीन मुख्य पदाधिकारीले जागिर गुमाउनु गर्‍यो । यद्यपि स्वीडेनको अदालतले तिनलाई निर्दोष सावित गर्‍यो । यही मामिलामा अमेरिकाको भ्रष्टाचार विरोधी कानून उल्लंघन गरेका कारण टेलिया ९६ करोड ५० लाख अमेरिकी डलर (रु.९८ अर्ब ९३ करोड) जरिवाना तिर्न बाध्य भयो । टेलियाले एशियाली मुलुकमा गरेको (जहाँ नेपाल पनि पर्छ) कारोबारमा समस्या थियो कि थिएन भन्नेबारे अनुसन्धान गर्न प्रसिद्ध अमेरिकी कानूनी परामर्शदाता नर्टन रोज फुलब्राइटलाई खटायो ।

    उक्त संस्थाको निष्कर्ष हालसम्म सार्वजनिक गरिएको छैन । तर, टेलियाको अभिलेखका अनुसार कम्पनीको बोर्डकी अध्यक्ष म्यारी एहर्लिङले २०७० सालमा कम्पनीका शेयर साझेदारलाई भनिन्ः “एशियाली देश (नेपालसहित) मा भएका कारोबारका क्रममा टेलियाले गरेका केही व्यवहारका कारण कानूनको उल्लंघन भएको नकार्न सकिने अवस्था छैन ।”

    हामीले टेलियालाई इमेलमार्फत यी र अरू केही प्रश्न पठाएका थियौं । टेलियाले हामीलाई समग्रमा दिएको जवाफ यस्तो छ, “नेपाललगायतका देशमा भएका कैयौं कारोबारहरूमाथि प्रश्न उठ्यो । हामीले ती कारोबारसँग सम्बन्धित दस्तावेजहरू स्वीडेनका अभियोजनकर्ताहरूलाई बुझायौं । तर, तिनीहरूले कुनै कार्बाही नगर्ने निर्णय गरे ।”

    सो कानूनी परामर्शदाताले गरेको अनुसन्धानबाट टेलियाले नेपाली साझेदारहरूसित गरेको कारोबारका सन्दर्भमा कुनै भ्रष्टाचार वा जालसाझी गरेको खास प्रमाण फेला परेको देखिंदैन । तथापि एशियाली मुलुकमा गरेको लगानीमा निश्चिन्त हुन नसकेर टेलियाले एशियाली क्षेत्र नै छाड्ने निधो गर्‍यो। सो अनुसन्धान मामिला बारे जानकार उच्च स्रोत भन्छ, “त्यसपछि एउटा निर्णय गरियो ः यी सबै कम्पनी भटाभट बेचौं किनभने यसले (हामीलाई) धेरै पीडा दिएको छ । एक किसिमले भन्ने हो भने कौडीको मूल्यमा बिक्री गरिएजस्तै भयो ।”

    २९ चैत २०७२ मा टेलियाले एनसेलमा रहेको आफ्नो शेयर आजीयाटालाई बिक्री गर्‍यो । उक्त स्रोतका अनुसार, भ्रष्टाचारको जोखिमका कारण उक्त शेयर बिक्रीका लागि अनुमति पाउने कुरामा टेलिया चिन्तित थियो । त्यसैले उसले एकजना वकिललाई काठमाडौं पठाएको थियो । टेलियाले यस विषयमा हाम्रा प्रश्नको सोझो जवाफ दिएन । तर, उसले ‘एनसेलको शेयर कारोबार सम्बन्धित देशहरूको नियम कानून अनुसार जिम्मेवारीपूर्वक र नैतिक सिद्धान्त बमोजिम भएको’ दाबी गरेको छ ।

    तर, पूँजीगत लाभकर नतिरी नेपालबाट बाहिरिएको टेलियाका गतिविधिहरू विवादित छन् । पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव भट्टराई खत्रीले राजनीतिकर्मी र सरकारी निकायले ती कारोबारहरूको गहिरो छानबिन नगरेको आरोप लगाए ।  भ्रष्टाचार र करछली विरुद्ध अभियानमा सक्रिय पूर्व कार्यवाहक  महालेखा परीक्षक खत्रीले भने, “उनीहरूले यी कारोबारको छानबिन गर्नुको साटो उल्टै ढाकछोप गरेका छन् । यो मामिला छानबिन नगरेको भन्दै मैले प्रधानमन्त्रीदेखि राज्यका सबै निकायलाई सार्वजनिक रूपमै दोषी देखाएको छु । तर मेरो भनाइलाई उनीहरूले अहिलेसम्म चुनौती दिएका छैनन् ।” सरकारले एनसेलको शेयर खरीदबिक्रीका सबै दस्तावेजहरू खोलेर अनुसन्धान गर्नु आवश्यक छ भन्ने मेरो अहिले पनि जोड छ ।

    एनसेलको १२औं बिक्री

    टेलियाले एनसेलमा रहेको आफ्नो शेयर बिक्री गरेकै बेला निरजगोविन्द श्रेष्ठले पनि आफ्नो २० प्रतिशत शेयर सुनिभेरा क्यापिटल भेन्चरलाई बिक्री गरे । नेपाली व्यापारी भावना सिंह श्रेष्ठ (निरजगोविन्द श्रेष्ठसँग नाता नपर्ने) को एकल स्वामित्व रहेको सुनिभेरा क्यापिटल भेन्चर नेपालमा २२ मंसीर २०७२ मा अर्थात् एनसेल बिक्री हुनुभन्दा चार महीना पहिले दर्ता गरिएको थियो ।

    निरजगोविन्द श्रेष्ठले उक्त शेयर बिक्रीबाट रु.११ अर्ब ३२ करोड नाफा भएको बताउँदै त्यसवापत नेपालमा पूँजीगत लाभकर तिरे । २०६८ सालमा रु.२५ करोडमा किनबेच भएको भनेर अदालतलाई भनिएको शेयर चार वर्षपछि कसरी रु.११ अर्ब ५७ करोडमा बिक्री भयो ? हामीले यो प्रश्न महतो र श्रेष्ठ दुवैलाई सोध्यौं तर कसैले पनि जवाफ दिएनन् ।

    महालेखा परीक्षकको कार्यालयले २०७३ साल चैतमा आफ्नो वार्षिक प्रतिवेदनमा श्रेष्ठले आफ्नो शेयर बेच्दा कम मूल्यांकन गरेकोले उनले रु.६ अर्ब १५ करोड बढी कर र त्यसमा लाग्ने जरिवाना र ब्याजसमेत तिर्नुपर्ने बताएको थियो ।

    त्यसपछि ठूला करदाता कार्यालयले श्रेष्ठलाई महालेखाले भनेको भन्दा अलि थोरै कर निर्धारण गर्‍यो । श्रेष्ठले त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरे । श्रेष्ठले अदालतकै नजिरहरूको हवाला दिंदै निजी कम्पनीको शेयरको बजार मूल्य नहुने दाबी गरेका छन् । अदालतमा पेश गरेको निवेदनमा उनले भनेका छन्, “निजी कम्पनीको शेयरको मूल्य खरीदकर्ता र बिक्रेताले करार ऐन बमोजिम निर्धारण गर्ने विषयमा प्रत्यर्थीले बजार मूल्य कायम गरेको गैरकानूनी भएको स्पष्ट छ ।” यो मुद्दा अहिले पनि विचाराधीन छ ।

    दुइटा सुनिभेरा : एउटा नेपालमा, अर्को सिंगापुरमा

    निरजगोविन्द श्रेष्ठले एनसेलको शेयर सुनिभेरालाई बिक्री गरे । यी शेयर बिक्री गर्दा टेलियाको ‘इकोनोमिक इन्ट्रेस्ट’ हटाउन उसलाई ४ करोड ८० लाख अमेरिकी डलर अर्थात् तत्कालीन सटही दरअनुसार लगभग रु.५ अर्ब १० करोड तिरिएको थियो ।

    टेलियाको वार्षिक प्रतिवेदनले उक्त रकम सिंगापुरमा दर्ता भएको कम्पनी सुनिभेरा क्यापिटल भेन्चर पिटिई लिमिटेडले तिरेको उल्लेख गरेको छ । त्यसबेला उक्त कम्पनीको स्वामित्व भावना सिंह श्रेष्ठमा नै थियो । तर, हामीले सिंगापुरस्थित उक्त कम्पनीको सन् २०१६ को आर्थिक विवरण नियाल्यौं । त्यहाँ टेलियालाई उसले पैसा तिरेको कुनै प्रमाण छैन । यो अन्तरबारे प्रष्ट पार्न आग्रह गर्दा टेलियाले यस्तो जवाफ दियो, “नेपालमा हामीले गरेको शेयर बिक्री (निरजगोविन्द श्रेष्ठको शेयरसहित) टेलियाको लेखा प्रणालीमा सही र पारदर्शी ढंगले खुलाइएको छ ।”

    त्यसोभए काठमाडौंको सुनिभेरा क्यापिटल भेन्चरले एनसेलको शेयर खरीद गर्न रकम कहाँबाट ल्यायो ? सुनिभेरा निजी कम्पनी भएकाले यसका सबै विवरणहरू सार्वजनिक रूपमा उपलब्ध छैनन् । उसले आफ्नो आर्थिक विवरण पनि सार्वजनिक गर्नुपर्दैन । उक्त शेयरको खरीदकर्ता भावना सिंह श्रेष्ठले हामीले पठाएका प्रश्नको जवाफ पनि दिइनन् ।

    हामीले आजीयाटालाई सुनिभेराको शेयरमा उसको लगानी भएको हुनसक्ने विषयमा सोध्दा उसले भन्यो, “त्यसमा आजीयाटाको कुनै लगानी थिएन ।”

    यद्यपि आजीयाटाले पेश गरेको विवरणअनुसार सुनिभेरा एनसेलमा साझेदार हुनुभन्दा केही साता मात्र अघि आजीयाटाले साउदर्न कोस्ट भेन्चर्स नामक अफसोर कम्पनीलाई ९ करोड अमेरिकी डलर अर्थात् रु.९ अर्ब ५६ करोड भुक्तानी गरेको थियो । आजीयाटा र साउदर्न कोस्ट भेन्चर्स कम्बोडियाको एक टेलिकम कम्पनीका साझेदार हुन् । (एनसेलको कम्बोडिया कनेक्सन तल हेर्नुहोस्)

    साउदर्न कोस्ट भेन्चर्स कतिसम्म गोप्य रहेको पाइयो भने यो कम्पनी कुन देशमा दर्ता छ भन्ने समेत पत्ता लगाउन सकिएन । यसका मालिकहरूको नाउँ सार्वजनिक छैन । आजीयाटालाई सोध्दा उसले पनि बताएन ।

    तर, हामीलाई आजीयाटाले उपलब्ध गराएको प्रमाणका आधारमा के भन्न सकिन्छ भने साउदर्न कोस्ट भेन्चर्सको सम्बन्ध भावना सिंह श्रेष्ठ र उनका श्रीमान् सतिशलाल आचार्यसित छ । आजीयाटाले साउदर्न कोस्ट भेन्चर्सलाई तिरेको ९ करोड अमेरिकी डलरमध्ये केही वा सबै एनसेलको २० प्रतिशत शेयर किन्न तिरेको हुनसक्ने देखिन्छ । यस विषयमा सोध्दा आजीयाटाले सोझै अस्वीकार गरेको छैन । आजीयाटाले भनेको छ, “साउदर्न कोस्ट भेन्चर्सले उक्त रकम कसरी प्रयोग गर्‍यो भन्ने हामीलाई त्यतिबेला र अहिले पनि कुनै चासो र जानकारी छैन ।”


    एनसेलको कम्बोडिया कनेक्सन

    एनसेलको २० प्रतिशत शेयरबाट नाफा कमाउने दुई व्यक्ति कम्बोडियामार्फत एक–अर्कासित र टेलिया अनि आजीयाटा दुवैसँग जोडिएको फेला परेको छ । यिनीहरूको सम्बन्ध ‘ट्याक्स हेभन’ मुलुकमा दर्ता भएका गोप्य तर वैध कम्पनीहरूमार्फत स्थापित छ । हामीले यी सम्बन्धहरूलाई केलाएका छौं । सुनिभेराकी मालिक भावना सिंह श्रेष्ठ नेपाली मूलका सिंगापुरका व्यापारी सतिशलाल आचार्यकी श्रीमती हुन् ।

    हामीलाई प्राप्त कर्पोरेट अभिलेखहरूका अनुसार, २०७३ सालमा एनसेलको शेयर किन्नुअगावै कम्बोडियाका टेलिकम कम्पनीहरूमार्फत टेलिया र आजीयाटा दुवैसँग आचार्यको व्यावसायिक साझेदारी थियो ।

    आचार्य कम्बोडियामा सन् २००६ मा स्थापित ‘एप्लिफोन’ नामक टेलिकम कम्पनीका अध्यक्ष थिए ।  सन् २००८ देखि २०१० सम्म ‘एप्लिफोन’ लाई टेलियाले नियन्त्रण गर्दथ्यो । त्यसपछि यो कम्पनीलाई कम्बोडियाकै अर्को टेलिकम कम्पनी ‘लाटेल्ज’मा गाभियो । कम्बोडियाको कर्पोरेट अभिलेख अनुसार आचार्य ‘लाटेल्ज’ का निर्देशकमध्ये एक थिए ।

    आचार्यले ‘लाटेल्ज’ मा लगानी पनि गरेको हुनसक्ने विश्वस्त तथ्य हामीले फेला पारेका छौं । ‘इन्टरनेशनल कन्सोर्टिएम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले तयार पारेको ‘अफसोर लिक्स डाटाबेस’ अनुसार, आचार्य सन् २००९ को जनवरी यता ब्रिटिश भर्जिन आइल्याण्डमा रहेको पासा होल्डिङ्स नामक कम्पनीका निर्देशक तथा शेयरधनी थिए ।

    यसैगरी, साइप्रसको कर्पोरेट अभिलेख अनुसार, ‘पासा होल्डिङ्स’ सित सन् २०१२ मे महीनाअघि कम्तीमा एक वर्ष ‘टाइमटन्र्स होल्डिङ्स’ को २० प्रतिशत शेयर थियो । त्यसबेला ‘लाटेल्ज’ को मालिक साइप्रसस्थित ‘टाइमटन्र्स होल्डिङ्स’ थियो । एनसेलका एक प्रमुख लगानीकर्ता उपेन्द्र महतो ‘टाइमटन्र्स’ का लगानीकर्ता भएको भन्ने सार्वजनिक विवरणबाट देखिन्छ । नेपालको एक अनलाइनमा उपलब्ध महतोले लगानी गरेका कम्पनीको विवरणमा मिति उल्लेख नगरी महतो वा उनको परिवार ‘टाइमटन्र्स होल्डिङ्स’ मा प्रमुख शेयरधनी वा त्यसको प्रवद्र्धकका रूपमा संलग्न रहेको जनाइएको छ । ‘टाइमटन्र्स’ मा संलग्नताका बारेमा हाम्रो प्रश्नको जवाफ महतो र आचार्य दुवैले दिएनन् ।

    यसरी हेर्दा एकपछि अर्को कम्पनीमा स्वामित्व, शेयर किनबेचको कथा पछाडि सीमित व्यक्तिहरू  भेटिन्छन् । अनि उनीहरूको सम्बन्ध वा साझेदारी फेरि आजीयाटासँग पनि ठोक्किन पुग्छ । २०६९ मंसीरमा आजीयाटाले ‘टाइमटन्र्स’ सँग ‘लाटेल्ज’ खरीद गर्ने घोषणा गर्‍यो । टेलियाले उक्त कम्पनीलाई कम्बोडियामा रहेको आफ्नो अर्को टेलिकम कम्पनीसँग समायोजन गरी ‘स्मार्ट आजीयाटा’ नामक नयाँ टेलिकम ब्राण्डको स्थापना गर्ने निधो गर्‍यो ।

    यसको परिणाम के देखियो भने, मलेशियाको ‘ट्याक्स हेभन’ टापु लाबुवनमा दर्ता गरिएको ‘ग्लासवुल होल्डिङ्स’ को ९० प्रतिशत स्वामित्व आजीयाटाले लियो । कम्बोडियाको टेलिकम कम्पनी स्मार्ट आजीयाटाको स्वामित्व ‘ग्लासवुल’ सित थियो । आजीयाटाको कर्पोरेट अभिलेख अनुसार, त्यसबेला ‘ग्लासवुल’ को बाँकी १० प्रतिशत शेयर ‘लाटेल्ज’ का पूर्व संचालकहरूसित रहने समझदारी थियो ।

    सन् २०१३ को फेब्रुअरीमा आजीयाटाले उक्त १० प्रतिशत शेयरको स्वामित्व ‘साउदर्न कोस्ट भेन्चर्स’ नामक ‘अफसोर’ कम्पनीसँग भएको बताएको थियो । साउदर्न कोस्ट भेन्चर्सको स्वामित्व कोसित छ भन्ने बारेमा सार्वजनिक रूपमा अभिलेख छैन । आजीयाटाले यसबारे कुनै सूचना उपलब्ध गराउन मानेन ।

    आजीयाटाको अभिलेख अनुसार, सन् २०१३ र २०१५ बीचमा आजीयाटाले साउदर्न कोस्ट भेन्चर्ससँग एकपछि अर्को शेयर कारोबार गर्‍यो । यो किनबेचमा कम्बोडियाको टेलिकम कम्पनी स्मार्ट आजीयाटामा अर्कै कम्पनी (ग्लासवुल) मार्फत आजीयाटाको स्वामित्व घटाइयो भने ‘साउदर्न कोस्ट भेन्चर्स’ को शेयर बढाइयो । अर्थात् आजीयाटाले ‘ग्लासवुल’ मा रहेको आफ्नो हिस्सा घटाएर साउदर्न कोस्ट भेन्चर्सको शेयर १५ प्रतिशत पुर्‍याउन अनुमति दियो ।

    साउदर्न कोस्ट भेन्चर्सले थप शेयरका लागि कुनै रकम तिरेको प्रमाण आजीयाटाको अभिलेखमा पाइँदैन । तर सित्तैंमा दिएको शेयरमध्येको १०.३ प्रतिशत शेयर २०७२ मंसीर २२ मा आजीयाटाले ९ करोड अमेरिकी डलर तिरेर किन्यो । यसरी आजीयाटाले ‘साउदर्न कोस्ट भेन्चर्स’ लाई उक्त रकम तिरेको दुई साताभित्रै सतिशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठले आजीयाटासँग एनसेलको स्वामित्व ग्रहण गर्ने सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।

    कम्बोडियाको टेलिकम व्यवसायमा आजीयाटाका गोप्य साझेदार रहेको कम्पनी ‘साउदर्न कोस्ट भेन्चर्स’ को स्वामित्व कोसँग छ त ? हामीले आजीयाटालाई पठाएको इमेलको जवाफका क्रममा उसले केही संकेत गरेको छ । जब हामीले आजीयाटासँग साउदर्न कोस्ट भेन्चर्सको इमेल ठेगाना माग्यौं, उसले सिंगापुरस्थित कम्पनी ‘बिटम्याप’ लाई सम्पर्क गर्न भन्यो । सतिशलाल आचार्य बिटम्यापका ५० प्रतिशत शेयरधनी हुन् ।

    यसको अर्थ ‘साउदर्न कोस्ट भेन्चर्स’ सँग आचार्यको अप्रत्यक्ष सम्बन्ध रहेको बुझिन्छ । आचार्य कम्बोडियास्थित स्मार्ट आजीयाटाका निर्देशक रहेको त्यहाँको कर्पोरेट अभिलेखमा उल्लिखित छ । आजीयाटाले आचार्यसँगको सम्बन्धबारे हामीलाई बतायोः “आचार्य आजीयाटाले कम्बोडियामा टेलिकम व्यवसाय सञ्चालन गरेदेखि नै आजीयाटाको सम्बन्ध भएका टेलिकम क्षेत्रका व्यवसायी हुन् ।”

    आजीयाटाले ‘साउदर्न कोस्ट भेन्चर्स’ मा आचार्यको लगानी छ भन्ने कुरा अस्वीकार गरेन । साथै उनी त्यस कम्पनीको लागि काम गर्छन् भन्ने कुरा पनि अस्वीकार गर्दैन । उसले ‘साउदर्न कोस्ट भेन्चर्स’ लाई तिरेको रकममध्ये केही वा सबै सुनिभेराले एनसेलको शेयर खरीद गर्न प्रयोग गरेको हुनसक्ने प्रश्नलाई पनि खण्डन गरेन ।

    आजीयाटाले आफूले तिरेको रकम एनसेलको शेयर किन्नका लागि प्रयोग भए/नभएको भन्नेबारेमा आफूलाई थाहा नभएको बताएको छ । उसले भनेको छ, “हामीले सुनिभेराको २० प्रतिशत शेयरमा कत्ति पनि लगानी गरेका छैनौं र साउदर्न कोस्ट भेन्चर्सले उक्त ९ करोड डलर कसरी प्रयोग गर्‍यो भन्ने बारेमा त्यतिबेला र अहिले पनि हामीलाई कुनै चासो वा जानकारी छैन ।”

    आजीयाटाले यी कारोबारमा नेपाल वा अन्य कुनै मुलुकको कानून उल्लंघन नगरेको बताएको छ । सुनिभेराले हाम्रो कुनै पनि प्रश्नको जवाफ दिएन ।

    आजीयाटाले चाहिं ‘साउदर्न कोस्ट भेन्चर्स’ सँगको उसको कारोबारबारे विस्तृत जानकारी दिन मानेन, उल्टै उसले कर्पोरेट अभिलेख हेर्न सुझायो । तर, उसका अभिलेखमा ‘साउदर्न कोस्ट भेन्चर्स’ तथा यसका लगानीकर्ताको बारेमा कुनै जानकारी भेटिएन ।

    नेपालको अर्थतन्त्रमा एनसेलको योगदान महत्वपूर्ण छ । यो मामिला ठूलो धनराशिको सवाल पनि भएकाले यस कम्पनीमा नेपाली र विदेशी लगानीकर्ता बीचको सम्बन्ध र कारोबार (विगतको र अहिलेको पनि) पारदर्शी हुनु जरूरी देखिन्छ ।

     

    खोज पत्रकारिता केन्द्र नेपालबाट साभार ।

  • २१ चैत्र २०७७, शनिबार १३:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images