सबै देशका उडान बन्द, भारतसँग मात्रै किन खुल्ला ?
  • CIA Khabar

  • काठमाडौ । नेपाल सरकारले अन्य सबै देशबाट हुने हवाई उडानलाई प्रतिबन्ध लगाउँदै भारतसँग मात्रै सातामा दुईवटा उडान सुचारु राख्ने निर्णय गरेको छ । अहिले भारतमै सबैभन्दा बढी कोरोना संक्रमण भएको अवस्थामा अन्य देशको उडान बन्द गरेर भारतसँग चाहिँ सातामा दुई दिन उडान चालु राखिएको हो ।

    पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी अन्य देशको हवाई उडान बन्द गरेर भारतसँग मात्रै खोल्नुको कारण ‘एअर बबल सम्झौता’ भएको बताउँछन् ।

    गत मंसिरमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको उड्डयन प्राधिकरणबीच एअर बबल सम्झौता भएको थियो । सम्झौताअनुसार दुबै देशका सरकारी स्वामित्वका वायुसेवा कम्पनीले सातामा एक–एक उडान गर्ने सम्झौता भएको थियो ।

    सम्झौता अनुसार कोभिड १९ लगायतका यस्तै महामारी वा अन्य असहज अवस्थामा पनि दुई देशका नागरिकका लागि आवात–जावत गर्न सातामा दुबै देशबाट एक–एक उडान गर्ने सम्झौता भएको थियो ।

    नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपालको उड्डयन प्राधिकरण र भारतीय उड्डयन प्राधिकरणको सम्झौता बमोजिम सातामा दुबै देशबाट एक–एक उडान हुने भएको हो ।

    यस उडानमा नेपालमा बसोबास गर्ने भारतीय नागरिक, उपचार वा व्यापार व्यवसायमा संलग्न व्यक्तिहरु भारत जान पाउनेछन् भने भारतमा अध्ययन, बसोबास वा उपचार र व्यापारका लागि बस्ने नेपालीहरु स्वदेश फर्कन पाउनेछन् । यी दुई उडानमा तेस्रो देशका नागरिकले भने यात्रा गर्न पाउने छैनन् ।
    यद्यपि तेस्रो देशबाट भारत हुँदै नेपाल आउन पाउने कि नपाउने भन्ने बारेमा भने स्पष्ट पारिएको छैन ।

    नेपाल वायुसेवा निगमका अनुसार नेपालबाट नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक बुधबार बिहान ११ः२० बजे नयाँ दिल्लीको लागि उडान भर्नेछ भने दिल्लीबाट त्यहाँको स्थानीय समयअनुसार २ बजे नेपालतर्फ आउने छ ।

    त्यसैगरी, भारतको एअर इण्डियाको विमान प्रत्येक शुक्रबार अपरान्ह २ः३० बजे नेपाल आइपुग्नेछ र अपरान्ह ३ः३० बजे भारत प्रस्थान गर्नेछ ।

  • २४ बैशाख २०७८, शुक्रबार ११:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images