फिफा वरीयतामा नेपाल यथावत, नतिजा राम्रो नआए मेरो दोष : फुटबल प्रशिक्षक
  • CIA Khabar

  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमले राम्रो नतिजा दिन नसके आफूले जिम्मा लिने बताउनुभएको छ । सामाजिक सञ्जालमा प्रशंसकहरुले उठाएको प्रश्नको जवाफ दिंदै उहाँले नेपाली फुटबल टिमको नतिजाको जिम्मा आफूले लिने उल्लेख गर्नुभएको हो । नेपाली राष्ट्रिय टोली हाल मैत्रीपूर्ण खेल खेल्न इराकमा छ । त्यसपछि नेपालले कुवेतमा गएर विश्वकप छनोटका ३ खेल खेल्नेछ ।

    ‘हामी नयाँ मानसिकता र सिस्टम प्रयोग गर्दैछौं । र यसको असर सुरुमै देखिन कठिन हुन्छ । त्यसैले अहिले उनीहरु (खेलाडी)लाई धेरै दबाब नगर्नुस् । हामी यहाँ उज्ज्वल भविष्यका लागि छौं,’ अलमुताइरीले फेसबुकमा लेख्नुभएको छ, ‘यदि नतिजा हाम्रो पक्षमा नआए, मलाई दोष लगाउनुस् खेलाडीलाई होइन ।’

    त्यस्तै उहाँले खेलप्रेमी सबैलाई खेलाडी र नतिजाप्रति धैर्य राख्न समेत आग्रह गर्नुभएको छ । शनिबार नेपालले फिफा वरियतामा ६८ औं स्थानमा रहेको इराकसंग उसैको मैदानमा खेल्दैछ । इराकसँग खेलेपछि नेपाली टिम कुवेत प्रस्थान गर्नेछ । विश्वकप र एसिया कपको संयुक्त छनोटको दोस्रो चरण खेलिरहेको नेपालले समूह बी मा ३ खेल खेल्न बाँकी छ । नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

    नेपालको फिफा वरीयता यथावत

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १ सय ७१ औं स्थानमै रहेको थियो । नेपालले गत चैतमा घरेलु मैदानमा त्रिदेशीय फुटबल खेलेको थियो ।

    त्यसयता नेपालले अन्तराष्ट्रिय खेल खेलेको छैन । नेपालले बंगलादेशलाई हराएर उपाधि जितेको थियो । नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ५ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ ।

    बंगलादेश १८४ औं, भुटान १८७ औं, पाकिस्तान १९९ औं र श्रीलंका २ सय ४ औं स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् । स्पेन छैटौं, इटाली सातौं, अर्जेन्टिना आठौं, उरुग्वे नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।

  • १३ जेष्ठ २०७८, बिहीबार २१:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images