पुल भासिन र भत्किन नदिनको लागी बेलैमा ध्यान दिउ: इन्जिनियर पौडेल
  • शिब खनाल

  • कपिलवस्तु । हस्तान्तरण नहुँदै भासिएको सिराहा-धनुषा जोड्ने कमला नदीको पुल विनाशको पछिल्लो एक उदाहरण मात्र हो । बर्खा सुरु भएसँगै नेपालमा करिब ३० पुलहरु यसरी नै भासिने र भत्किने समस्याबाट ग्रस्त भइसकेका छन् । हिजोका दिनमा पनि यस्ता घटना नभएका होइनन् र भविष्यमा समेत नदोहोरिएलान् भन्न सकिन्न । नेपाल जस्तो विकशोन्मुख देशमा पूर्वाधार निर्माण क्षेत्रमा भइरहेको पुल भासिने र भत्किने समस्या कोभिड–१९ भन्दा पनि ठूलो महामारी हो । कसरी इन्जिनियरिङ निर्माण गुणस्तरीय बनाउन सकिन्छ भन्ने भन्दा पनि कसरी विकास बजेट सकेर कार्यसम्पादन मूल्यांकनको कागज बनाउने भन्ने मानसिकताका कारण पटक–पटक यस्ता घटना घटिरहेका छन् । तसर्थ, भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्नका लागि निम्न कुरामा ध्यान दिन जरुरी छ ।

    १. निर्माण सामाग्री इन्जिनियरको सिफारिसमा मात्र प्रयोग गर्ने र निर्माण कार्यमा क्वालिटी कन्ट्रोलर इन्जिनियरको दरबन्दी थप गर्ने ।

    २. टेन्डर मूल्यलाई धेरै विलो मूल्यमा गएर धरौटी मात्र बढी राखेर काम गर्ने प्रावधानको अन्त्य गर्ने । ४०–५० प्रतिशतसम्म घटेर ठेक्का लिँदा काम गुणस्तरको नहुन पनि सक्छ ।

    ३. लोकसेवाको पाठ्यक्रम घोकेर निजामति सेवामा प्रवेश गराउने वा कलेजमा टपर भएको आधारमा काम दिने भन्दा पनि सम्बन्धित क्षेत्रमा कार्य अनुभव, ब्यबहारिक, प्रयोगात्मक ज्ञान केन्द्रित सिकाई र जागिरको व्यवस्था गर्ने ।
    ४. ठेकेदारले निर्माण लाइसेन्स प्राप्त गर्नुअघि क्षमता विकास र तालिम लिनुपर्ने बाध्यतात्मक व्यवस्था लागू गर्ने । ठेक्का सम्झौता गर्दा कम्पनीको पृष्ठभूमिमा पनि ध्यान दिने । विगतमा नराम्रो काम गर्नेहरुलाई वहिष्कार गर्ने नीति अबलम्बन गर्ने हो भने सबैमा काम नपाउने डर पैदा हुन्छ ।

    ५. जवाफदेही , इमानदार र पारदर्शी तरिकाले काम गर्नका निम्ति राज्यका सबै अंगले आवश्यक समन्वय र सहयोग गर्ने । कामको नियमित अनुगमन र खबरदारी गर्ने ।

    ६. इन्जिनियर हुनका लागि पढेर मात्र लाइसेन्स परीक्षा दिने भन्दा पनि ब्यबहारिक र प्रयोगात्मक ज्ञानबाट लाइसेन्स परीक्षा लिनुपर्ने बाध्यकारी नियमको व्यवस्था गर्नुपर्ने । या, रोजगार भइसकेपछि इन्जिनियरहरुलाई विशेष तालिमको व्यवस्था गर्ने । प्रशासन सेवातर्फ जस्तै स्टाफ कलेजको व्यवस्था गर्ने र त्यहाँ इन्जिनियरहरुलाई तालिम दिने ।

    ७. डाक्टरले गल्ती गरे १ जना बिरामीको ज्यान जान सक्छ तर इन्जिनियरले र ठेकेदारले गल्ती गरे एकैपटक सयौँको ज्यानसमेत जान सक्छ । यस कुरालाई मनन गरेर हरेक ५–५ वर्षमा लाइसेन्स नबिकरण गर्नुपर्ने र त्यसको लागि फेरि परीक्षा लिनुपर्ने बाध्यकारी नियमको व्यवस्था गर्नुपर्ने ।

    ८. पुल निर्माण गर्दा त्यहाँको भूअध्ययन गर्ने । निर्माण जारी रहँदा गुणस्तर जाँच गर्ने र निर्माण सम्पन्न भएपछि फेरि निर्माण सामग्री र कार्यको गुणस्तर जाँच गरेर बल्ल निर्माण सम्पन्नको प्रमाणपत्र दिने व्यवस्था गर्ने ।

    ९. पुल भत्किएमा वा भासिएमा तत्काल सम्बन्धित पक्षबाट अध्ययन तथा अनुसन्धान गर्ने । गल्ती डिजाइनर, ठेकेदार, इन्जिनियर वा अरु कसको हो पत्ता लगाउने र उसलाई कारबाहीको दायरामा ल्याउने । कालोसूचीमा राख्नेदेखि लाइसेन्स खारेज गर्नेसम्मको कडा व्यवस्था ल्याउने ।

    १०. विकास निर्माण कार्यमा राजनीति नगर्ने । कुनै काम गर्दा विषय विज्ञको परामर्श र संलग्नता अनिवार्य गर्ने र जवाफदेहीता सुनिश्चित गर्ने ।

    ११. भ्रष्टाचार पनि यसको एक कारण हो । २० करोडमा ठेक्का पाएको कामको ४०–५० प्रतिशतसम्म कमिसन दिनुपर्ने अवस्थामा काम कसरी गुणस्तरको हुन्छ ? सबैभन्दा महत्वपूर्ण कुरा आफू इमानदार हुनु हो । सानो गल्ती र धेरै पैसा कमाउने लोभले कसैको ज्यान जान सक्छ भन्ने कुरालाई ध्यानमा राख्ने ।

    लेखक: इन्जिनियर नवराज पौडेल

  • २६ असार २०७८, शनिबार १७:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images